अवैध सुन किनेको आरोपमा हेटौंडाका प्रतीक पक्राउ

साझाकुरा
२०८० श्रावण २०, शनिबार १३:१३

हेटौंडा- बिलबिना सुन किनेको आरोपमा हेटौंडाको पुरानो तथा चर्चित सुन व्यवसायी परिवारका सदस्य पक्राउ परेका छन् ।चोरी गरेको सुन खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका सञ्चालक प्रतीक शाक्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । प्रतीक हेटौंडाको पुरानो सुन व्यवसायी शाक्य परिवारका सदस्य हुन् । शाक्यको सुन भनेपछि हेटौंडामा चर्चित र विश्वासिलो मानिन्छ । सुन व्यवसायमा विश्वासको ठूलो अर्थ रहन्छ । तर, पूर्ण शाक्य एण्ड सन्सले उपभोक्ताको मन जितेपछि राज्यलाई भने छलकपट गरिरहेको विकसित घटना क्रमले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चोरीको सुन, चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका सञ्चालक प्रतीक पक्राउ परेका हुन् । उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना खरिद गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । कार्कीको घरबाट हेटौंडा–६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपालीले सुन तथा चाँदीको गहना चोरी गरेको प्रहरीको भनाई छ । चोरी भएको सुनको खोजी गर्ने क्रममा प्रहरी पूर्ण शाक्यकोमा आइपुगेको हो । दिनेशलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो ।

चोरी गरेको गहना शाक्यको पसलमा ल्याएर आरोपित नेपालीले बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको हो । कार्कीको घरबाट चोरी गरी नेपालीले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट बिक्री गरेको प्रहरीले जनाएको छ । प्रहरीले नेपालीविरुद्ध चोरीको आरोपमा मुद्दा चलाएको छ । दिनेशको शरीर तथा घर कोठा समेत खानतलासी गर्दा निजको साथबाट नगद २८ हजार, निजको घरको कोठाबाट स्क्रिनटच मोबाइल एक थान र फलामको खुकुरीसमेत प्रहरीले फेला पारेको थियो । दिनेशले सुनको बिलसहित चोरी गरेको र बिलसहित शाक्यको पसलमा बिक्री गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*