प्रदेश राजधानीकै पाँच प्रतिशत नागरिक अँध्यारोमा

सरला खनाल
२०८० श्रावण २१, आईतवार ११:१४

हेटौंडा- देशमा ७ वटा प्रदेश छन् । तीमध्ये पनि सबैभन्दा ठूलो आर्थिक स्रोत भएको, विकासका दृष्टिकोणले पनि बागमती प्रदेशलाई अब्बल मानिन्छ ।संघीय राजधानी काठमाडौं बागमती प्रदेशमै छ । बागमती प्रदेशको पनि राजधानी भने हेटौंडा उपमहानगरपालिका हो । २०७४ अघि राज्य पुनःसंरचना हुँदा हेटौंडालाई अस्थायी राजधानी बनाइएको थियो । प्रदेशसभाबाट हेटौंडा २ वर्षपछि स्थायी राजधानी बन्न पुग्यो । प्रदेश राजधानी बन्नु अगाडि पनि हेटौंडा मध्यमाञ्चल विकास क्षेत्रको सदमुकाम थियो । निरन्तर सदरमुकाम र हाल प्रदेश राजधानी रहेको हेटौंडाका नागरिकका दुःख भने अनेक छन् । हेटौंडाकै कर्रा र राप्ति खोला किनारका नागरिक वर्षा लागेपछि रातभर निधाउन पाउँदैनन् ।

नगरकै १५ नम्बर वडाको चिप्लेटी, बाँसघारी, शक्तिलगायतका नागरिकलाई बजार आउन बारा अमलेखगञ्ज जिल्लाको सडक प्रयोग गर्नुपर्छ । यतिसम्मकी चिप्लेटीमा करिब ३ वर्ष अघिसम्म स्वास्थ्यचौकी र निमावि तहसम्मको एउटा विद्यालयसमेत थिएन । नगरकै १९ नम्बर वडाका अधिकांश नागरिक चुन मिसिएको पानी पिउन बाध्य छन् । प्रदेश राजधानी निश्चित बजारक्षेत्रमा मात्रै सीमित छ । तर, पनि हेटौंडा उपमहानगरका जनप्रतिनिधिलाई प्रदेश राजधानीको अगुवा बन्नै हतारो छ ।

प्रदेश सरकारको पहिलो कार्यकाल अभ्यासमै बित्यो । दोस्रो कार्यकाल चलिरहँदा पनि हालसम्म हेटौंडामा प्रादेशिक संरचनाको सुरसार छैन । विश्वमा जलस्रोतकै दोस्रो धनी देश नेपाल । त्यसमा पनि मानवनिर्मित ठूलो जलाशय कुलेखानी जलविद्युत आयोजना रहेको जिल्ला मकवानपुर । कुलेखानी पहिलो, दोस्रो, तेस्रो हेटौंडा नजिकैबाट सञ्चालित छ । तर, समग्र मकवानपुर र प्रदेशकै राजधानी हेटौंडाका नागरिक भने अझै अँध्यारोमा बस्न बाध्य छन् । प्रविधिको तीव्र विकासको गति र विद्युतीयकरणको अत्यावश्यकताका बीच प्रदेश राजधानी हेटौंडाकै ५ प्रतिशत नागरिक अझै अँध्यारोमा बस्न बाध्य छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रको तथ्यांक अनुसार हेटौंडामा ५ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर छन् । उपमहानगरभित्र ९५ प्रतिशत विद्युत पुगेको हेटौंडा वितरण केन्द्रले जानकारी दिएको छ । हेटौंडामा १९ वटा वडा छन् । जसमध्ये २ र १० नम्बर वडामा ९९ प्रतिशत भन्दा बढी विद्युत विस्तार भएका छन् । उपमहानगरपालिका कार्यालय रहेकै २ नम्बर वडामा ९९ दशमवल ४० प्रतिशत विद्युत विस्तार भएको हेटौंडा वितरण केन्द्रका इन्जिनियर प्रतीक श्रेष्ठले जानकारी दिए । १० नम्बर वडामा ९९ प्रतिशत विद्युत विस्तार भएको केन्द्रको तथ्यांकले देखाएको छ ।

उपमहानगरभित्र १७ र १८ नम्बर वडा विद्युत पहुँचबाट सबैभन्दा पछाडि रहेका छन् । १७ नम्बर वडामा ८८ प्रतिशत र १८ नम्बर वडामा ८७ प्रतिशत नागरिक विद्युतको पहुँचमा छन् । प्रतिशतले झण्डै ९० प्रतिशत देखाए पनि विद्युतको पहुँचबाट धेरै नागरिक बाहिर रहेको इन्जिनियर श्रेष्ठ बताउँछन् । १५ नम्बर वडामा ९१ प्रतिशत मात्रै विद्युत विस्तार भएको तथ्यांकले देखाएको छ ।

मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी विद्युतको पहुँच पुगेको पालिका भने हेटौंडा नै हो । जिल्लाकै विकट कैलाश गाउँपालिकामा २९ प्रतिशत मात्रै विद्युत विस्तार भएको वितरण केन्द्रले जानकारी दिएको छ । कैलाशको चारवटा वडा भने पालुङ वितरण केन्द्रको कार्यक्षेत्र हो । कैलाशको ३, ४, ७ र ८ नम्बर वडामा हालसम्म विद्युत नै नपुगेको हेटौंडा वितरण केन्द्रका इन्जिनियर श्रेष्ठले जानकारी दिए । कैलाशका केही वडा कार्यालयसम्म विद्युत पुगे पनि नागरिकको घरसम्म विद्युत नपुगेको श्रेष्ठले बताए ।

बकैया गाउँपालिकामा ४२ दशमवल ५० प्रतिशत विद्युत विस्तार भएको छ । बकैयाको १२ नम्बर वडाका अधिकांश नागरिक अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । १० र ११ नम्बर वडामा ५ प्रतिशत मात्रै विद्युत पुगेको हेटौंडा वितरण केन्द्रका इन्जिनियर श्रेष्ठले जानकारी दिए । १ र २ नम्बर वडामा क्रमशः ३५ र २५ प्रतिशत मात्रै विद्युत पुगेको छ । राज्य पुनसंरचनाका क्रममा बकैयामा गाभिएको साबिक धियाँल, शिखरपुर गाविसमा बिद्युतीकरण अत्यन्तै न्यून रहेको थियो ।

बागमती गाउँपालिकाको ३ र ९ नम्बर वडा विद्युत पहुँच बाहिर छ । ४, ६ र ८ नम्बर वडामा विद्युत ९० प्रतिशत बढी विस्तार भइसकेको हेटौंडा वितरण केन्द्रको तथ्यांकले देखाउँछ । भीमफेदी गाउँपालिकाभरी ९० दशमलव २१ प्रतिशत विद्युत विस्तार भएको छ । भीमफेदीको १ देखि ७ नम्बर वडामा ९० प्रतिशत बढी विद्युत विस्तार भएका छन् । भीमफेदीको ८ र ९ नम्बर वडामा भने पालुङ वितरण केन्द्रको कार्यक्षेत्र रहेको छ ।

मकवानपुरगढी गाउँपालिकामा ५८ दशमलव ३८ प्रतिशत विद्युत पुगेको छ । १ नम्बर वडामा जम्मा १५ प्रतिशत नागरिक मात्रै विद्युतको पहुँचमा रहेका छन् । ३ नम्बर वडामा ९० प्रतिशत विद्युत विस्तार हुँदा २, ४, ५, ६, ७ र ८ नम्बर वडामा ५० प्रतिशतको हाराहारीमा विद्युतको पहुँच छ । मनहरी गाउँपालिकामा ७२ दशमलव २२ प्रतिशत विद्युत विस्तार भएको छ । ९ नम्बर वडामा ९० प्रतिशत विद्युत पहुँच रहेको छ भने बाँकी वडामा ८० प्रतिशतको हाराहारीमा विद्युत विस्तार भएको हो ।

राक्सिराङ गाउँपालिकामा ४१ दशमलव ६७ प्रतिशत विद्युत पहुँच रहेको हेटौंडा वितरण केन्द्रले जानकारी दिएको छ । राक्सिराङको ७ र ९ नम्बर वडामा भर्खरै विद्युत पुगे पनि सबै नागरिकको घर उज्यालो भएको छैन् ।थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिका पालुङवितरण केन्द्रको कार्यक्षेत्र रहेको छ । त्यहाँ पनि विद्युतको पहुँच बारिह रहेका नागरिक धेरै छन् । हेटौंडा वितरण केन्द्रका इन्जिनियर श्रेष्ठले राज्यको सिष्टममै समस्या भएकाले काम गर्न कठिनाई भएको र समयमै विद्युत विस्तार हुन नसकेको बताए । २ वर्षअघि गरेको टेण्डरबाट ट्रान्सफर्मर, तार र पोललगायतका विद्युत सामग्री भर्खर मात्रै आइपुगेको भन्दै सबै क्षेत्रमा विद्युत विस्तार गर्न नसकिएको गुनासो गरे ।

‘नागरिकलाई प्राधिकरणले काम गरेन भनेजस्तो लाग्छ । हाम्रो समस्या कसैले बुझ्दैन । ट्रान्सफर्मर, तार र पोललगायतका विद्युत सामग्री समयमै आइदियो र काम एउटा गतिले हुनसक्यो भने सबै क्षेत्रमा विद्युत पुग्छ ।,’ उनले भने । विद्युत प्राधिकरणबाटै असोज पछि मात्रै बजेट उपलब्ध हुने गरेको भन्दै ढिलाई गरी काम हुने भएकाले समस्या भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*