बागमतीमा अवैध रुपमा नदीजन्यपदार्थ उत्खनन्

साझाकुरा
२०८० श्रावण २१, आईतवार ११:२१

हेटौंडा- बागमती गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको छ । गाउँपालिका कार्यालयकै सवारी साधन प्रयोग गरेर अवैध उत्खनन् भइरहेको हो ।बागमती गाउँपालिका–४, झुरझुरै नजिकै (गाउँपालिका कार्यालय पछाडि)को चैराहा खोलामा गाउँपालिका आफैंले अवैधरुपले नदीजन्यपदार्थ उत्खनन् गरेको हो । गाउँपालिका कार्यालय आफैंले पनि असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाउँदैनन् । ढुंगा, गिट्टी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७, (पहिलो संशोधन)को दफा ४ को उपदफा १६ बमोजिम प्रत्येक वर्षको असारदेखि भदौ मसान्तसम्म नदीजन्यपदार्थ उत्खनन् गर्न नपाइने स्पष्टसँग उल्लेख छ ।

तर, गाउँपालिकाले झुरझुरेमै खेलकुद मैदान निर्माणको नाममा चौराह खोला र बागमती नदीको संगमस्थलबाट नदीजन्यपदार्थ उत्खनन् गरिरहेको स्थानीयले जानकारी दिएका छन् । यद्यपि, असार १ गते बागमती गाउँपालिका आफैंले नदीजन्यपदार्थ उत्खनन् बन्द हुने सम्बन्धमा सबै वडा कार्यालयलाई पत्रचारसमेत गरेको थियो । वडा कार्यालयलाई नदीजन्यपदार्थ उत्खनन् नगर्न पत्राचार गर्ने गाउँपालिका भने आफैं अवैध रुपमा वर्षातको समयमा बस्तीहरुमा जोखिम पुग्ने गरी नदीजन्यपदार्थ उत्खनन् गरिरहेको हो ।

बागमती गाउँपालिका भित्र कुनै पनि खोलाको वातावरणीय प्रभाव मूल्यांकन (आईई) छैन । वातावरणीय प्रभाव मूल्यांकन बिनै नदीजन्यपदार्थ उत्खनन् गर्नु गैरकानुनीसमेत हो । स्थानीय सरकार नै गैरकानुनी कार्यमा लागेको भन्दै बागमतीमा स्थानीय सरोकारवालाले सचेत गराइरहेका छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले आफू ७ दिनदेखि बिदामा रहेको र नदीजन्यपदार्थ उत्खनन्को बारेमा कुनै जानकारी नभएको बताए । उनले असारदेखि भदौसम्म कुनै उत्खनन् नगर्न निर्देशन दिएको उनको भनाई छ ।

उनले गाउँपालिका कार्यालय नजिकै सार्वजनिक जग्गामा मिनि रंगशाला निर्माण गर्न लागेकाले फिलिङ गर्न नदीजन्यपदार्थ उत्खनन् गरेको हुनसक्ने बताए । आफूले तत्काल उत्खनन् रोक्न निर्देशन दिएको उनको भनाई छ । बागमती गाउँपालिकामा यसअघि पनि अवैध रुपमा नदीजन्यपदार्थ उत्खनन् हुँदै आएको छ । यसअघि मदन भण्डारी राजमार्ग बनाउने नाममा निर्माण कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी नदीजन्यपदार्थ उत्खनन् गरेर लगेको थियो । जिल्ला समन्वय समितिले अवैध रुपले नदीजन्यपदार्थ उत्खनन् नगर्न ताकेता गर्दासमेत गाउँपालिकाले नटेरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*