विनाविभागीय मन्त्री चित्रकारलाई ७७ दिनपछि जिम्मेवारी

हेटौंडा- बागमती प्रदेशमा गठवन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको सख्या थपिएको छ । सत्ता गठवन्धन भित्र भागवण्डा मिलाउनकै लागि मन्त्रालयको सख्या थपिएको हो । लामो समयदेखि विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका रामकृष्ण चित्रकारलाई मन्त्रालय फुटाएर उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो ।प्रदेशका विनाविभागीय मन्त्री चित्रकारले फुटाएको मन्त्रालय सम्हाल्ने भएका छन् ।
मन्त्री नियुक्त भएको ७७ दिनपछि उनले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । सत्ता गठवन्धन दलभित्र माओवादीका मन्त्रीले सम्हालेको भौतिक मन्त्रालय फुटाउनु पर्ने नेपाली कांग्रेसले अडान लिदै आएका थियो । कांग्रेसका मन्त्री थप भएकाले कांग्रेसले नै सम्हालेको मन्त्रालय फुटाउनुपर्ने माओवादीको अडानका कारण ७७ दिनदेखि जिम्मेवारीविहिन रहेका मन्त्री चित्रकारले बल्ल आइतबार मन्त्रालय प्राप्त गरेका हुन् ।
माओवादी मन्त्रीहरुले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछि कांग्रेसले नै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको हो । जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गरे । चित्रकार नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत हुन् ।
लामो समयदेखि जिम्मेवारी विहीन अवस्थामा रहँदै आएका चित्रकारलाई प्रदेश सरकारले मन्त्रालय विभाजन गरी जिम्मेवारी सुम्पेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । बागमती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी थप मन्त्रालय खडा गरिएको हो । मन्त्रालय विभाजनको विषयमा लामो समयदेखि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद रहँदै आएको थियो ।
सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री जम्कट्टेले मन्त्रालय विभाजनसँगै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका छन् ।