हेटौंडामा डेंगुको महामारी रोक्न सरोकारवालाबीच छलफल

साझाकुरा
२०८० श्रावण २३, मंगलवार ११:२५

हेटौंडा- मकवानपुरमा गत वर्षझैं यसवर्ष पनि डेंगुको महामारी फैलनसक्ने भन्दै रोकथामका कार्यक्रम गर्न सबै जुट्नुपर्नेमा जोड दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा सोमबार हेटौंडामा भएको जिल्लाका सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा डेंगुले महामारीकै रुप लिने संकेत देखिएको भन्दै डेंगु रोकथामका साथै बिरामीको उपचारको लागि तयारी गर्नुपर्ने बताइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले हालसम्मको संक्रमणको अवस्था हेर्दा यसवर्ष पनि महामारीकै रुपमा फैलनसक्ने बताए । उनले कार्यालयका तर्फबाट प्रस्तुतीकरण गर्दै गत आर्थिक वर्ष २०७९÷८० मा मकवानपुरमा ५ हजार ९ सय ६४ जनामा डेंगु संक्रमण भएको जानकारी दिए । चालु वर्षको साउन १ गतेयता मात्रै ६४ जनामा डेंगु संक्रमण पुष्टी भइसकेको उनले बताए ।

‘अघिल्ला वर्षहरुको संक्रमणको अवस्था हेर्दा डेंगु संक्रमण हुने मुख्य समय भनेको भदौ, असोज र कात्तिक हो । गतवर्ष साउनमा बिरामी देखिन थालेकै थिएनन्, यसवर्ष साउनमै ६४ जना संक्रमित भेटिएकाले यसवर्षको भदौदेखि कात्तिकमा संक्रमण उच्च हुने अनुमान गर्न सकिन्छ ।’ घिमिरेले भने ।

गतवर्ष हेटौंडा र मनहरी गाउँपालिकामा सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको पनि कार्यालयले तथ्यांकमा उल्लेख गरेको छ । एडिस एजिप्टाई लामखुट्टेको टोकाईबाट सर्ने डेंगु संक्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान नष्ट गर्न तीव्रताका साथ लाग्नुपर्ने स्वास्थ्य कार्यालयको सुझाव छ ।खुला ठाउँमा जमेको सफा पानीमा लामखुट्टेले अण्डा
पार्ने र लामखुट्टे वृद्धि हुने हुँदा त्यस्तो पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जम्ने भाडाँहरु, गमला, टायरलगायत खाली गराउने र औषधि छर्कने कार्यलाई सबै
सरोकारवालाले अभियानकै रुपमा नियमित सञ्चालन गराउनु पर्नेमा जनस्वास्थ्य निरीक्षक घिमिरेले जोड दिए ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले डेंगु रोकथाममा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै संक्रमण फैलिहाले उपचारको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । ओैषधि र किटको अभाव हुन नदिन उनले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए । मोटर ग्यारेजहरुमा हुने टायरमा जम्ने पानीमा लामखुट्टेको अधिक बासस्थान हुने भएकाले सम्बन्धित ग्यारेजवालालाई त्यसको व्यवस्थापन गर्न आग्रह गरिने पनि उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरका अध्यक्ष लालबहादुर थापाले डेंगु रोकथामका लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालनका लागि उपशाखाहरुलाई निर्देश गरिसकेको बताए । डेंगु नियन्त्रण अभियानका लागि आफूहरुले स्वयमसेवक तयार गरेको भन्दै उनले केही दिनमा उनीहरुलाई परिचालन गरिने र ‘खोज र नष्ट गर’अभियान चलाइने बताए ।

रक्तसञ्चार केन्द्र प्रमुख टंक दाहालले डेंगु संक्रमणका बिरामीमा सेतो रक्तकोषको अभाव हुने गरेकोमा यसवर्षबाटे मेसिन आएकाले आफूहरुले प्रयाप्त मात्रामा सेतो रक्तकोष निर्माण गरिने बताए ।हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले अघिल्लो वर्ष डेंगु किट नै अभाव भएको स्मरण गराउँदै यस वर्ष अस्पतालले ३ हजार किट तयारी अवस्थामा राखेको बताए । गत वर्षझैं बिरामीको उपचारमा अस्पतालले आफूहरुको स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताउँदै निजी अस्पतालले पनि यसमा सहयोग गर्नुपर्ने डा. सापकोटाले बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, उपभोक्ता हित संरक्षण केन्द्रका बासु खतिवडा, हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईलगायतले डेंगु संक्रमण रोक्न सबै सरोकारवालाबीच हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*