यातायात व्यवस्था कार्यालय हेटौंडामा डेढ करोड राजश्व घट्यो

साझाकुरा
२०८० श्रावण २४, बुधबार १२:३४

 हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको यातायात व्यवस्था कार्यालयबाट गत आव २०७९÷८० मा सवारी साधन करबाट ३४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम आव २०७८÷७९ भन्दा करीब एक करोडले कम रहेको देखिन्छ । प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तरगत पर्ने कार्यालयमा गतवर्ष राजश्व रकम घटेको तथ्याङ्कले देखाएको छ ।

आव ०७८÷७९ मा सवारीसाधन करबाट पैंतीस करोड ५२ लाख १८ हजार २ सय २८ रुपैयाँ संकलन भएको थियो भने गतवर्ष चौंतीस करोड ८९ लाख ३३ हजार ९४५ कर राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी एंव अधिकृत राजु अर्यालले बताए । सवारी साधन नवीकरण रजरिवानामा आव २०७८÷७९ मा बाह्र करोड १३ लाख ८८ हजार ४०६ रुपैयाँ संकलन गरिएकोमा गत वर्ष ११ करोड ३५ लाख ३१ हजार ५२१ रुपैयाँ संकलन गरिएको अर्यालले बताए ।

उनका अनुसार यातायात क्षेत्रको आम्दानी आव २०७८÷७९ मा नौ करोड ३ लाख १६ हजार २९० भएकोमा आव २०७९÷८० मा भने ८ करोड ७४ लाख ५६ हजार ६६० भएको अर्यालले बताए । यातायात कार्यालय विस्तार भएकोले पनि हेटौंडामा गतवर्ष आव २०७९÷८० मा करिब डेढ करोड भन्दा बढी रकम राजश्व कम संकलन भएको उनले बताए । उनले चालु आवमा पनि अझै राजश्व संकलनमा कमी आउने बताए ।

ट्रायल सहित चितवनमा कार्यालय सञ्चालनमा आएपछि हेटौंडामा राजश्व संकलन कम हुदैं गएको कार्यालयका निमित्त प्रमुख तीर्थराज उपाध्यायले बताए । सेवाग्राहीहरु बाँढिएपछि नयाँ सवारी दर्तामा कमी, अन्य प्रदेश भन्दा करदर हाम्रो प्रदेशमा बढी भएकाले पनि होला राजश्वमा कमी आएको हो उपाध्यायले भने । विगतमा दैनिक दुई हजार भन्दा बढी दर्ता नवीकरणको काम गरिन्थ्यो भने अहिले त्यो संख्या वार्षिकमा पुगेको समेत उपाध्यायले बताए ।

हेटौंडामा आव २०७९÷८० मा ठुला र मझौला सवारीसाधन १० वटा सरकारी र निजी क्षेत्रका ४५६ वटा सवारीसाधन दर्ता भएको छ । त्यस्तै, साना सवारीसाधनमा सरकारी २१ वटा र निजी तथा सार्वजनिक ४७८ वटा दर्ता भएको सूचना अधिकारी अर्यालले बताए । टेम्पो÷ईरिक्सामा २ वटा सरकारी र निजी क्षेत्रका २३९ वटा दर्ता भएका छन् । मोटरसाइकल÷स्कुटर भने १२२ वटा सरकारी सहित २ हजार ४२३ वटा दर्ता भएको तथ्याङ्कमा देखिन्छ । नयाँ ट्याक्टर भने हेटौंडामा २ सरकारी सहित ५० वटा दर्ता भएको अर्यालले बताए ।

संघीयता आउनुभन्दा अघि नयाँ लाइसेन्स लिन वीरगन्ज जानुपर्ने बाध्यतालाई हटाई प्रदेश सरकारले हेटौंडाबाटै दिने व्यवस्था गरेको थियो । सोही अनुरुप हेटौंडाबाट आव २०७९÷८० मा मोटरसाइकल लाईसेन्सका लागि २५ हजार माथीले निवेदन दर्ता गराएपनि ९ हजार ९१८ जनालाई लाईसेन्स प्रदान गरिएको छ । स्कुटरका भने तीन हजार १०२ जनालाई प्रदान गरिएको छ । त्यस्तै, साना गाडीको ८४० जनालाई, टेम्पोको १५० जनालाई, ईरिक्साको १८ जनालाई, ट्याक्टरको ११९ जनालाई, जेसिबीको १३४ जनालाई, एक्साभेक्टर (हेभी मेशिन)को २४२ जनालाई नयाँ लाईसेन्स प्रदान गरिएको अर्यालले बताए ।

कार्यालयबाट हामीले लाईसेन्स थप गर्न आउने सेवाग्राहीमा मोटरसाइकलको एक हजार १७४ जना, स्कुटरको ५२ जना, साना गाडीको एक हजार ६१५ जना, टेम्पोको १९५ जना, ईरिक्साको १४ जना, ट्याक्टरको ३० जना, मिनीबसको ४६ जना, ट्रक, बस, लहरीको ५०२ जना, एक्साभेक्टर (हेभी मेशिन) को ३९ जना र जेसिबीको ३८ जनालाई लाईसेन्स थप प्रदान गरेका छौंःअर्यालले भने । नयाँ होस् या पुरानोमा थप गर्ने सेवाग्राही हुन निवेदनको आधारमा ट्रायल पास गर्नेहरुको संख्या पनि कमी रहेको अर्याल बताउँछन् ।

हेटौंडा कार्यालयबाट सवारीसाधनको सबै वर्गमा सवारी साधन अनुमतिपत्र नवीकरण सात हजार ६२९ जनाले गरेका छन् भने प्रतिलिपि बनाउनेको संख्या १८८ जना रहनुका साथै नवीकरण पनि प्रतिलिपि लिनेको संख्या १४७ जना रहेको अर्यालले बताए । चितवनमा कार्यालय विस्तारले गर्दा राजश्व संकलनमा कमी आएको हो । मकवानपुरमा भन्दा करको दर कम रहेकाले पनि वीरगञ्ज जाने, ठुलो संख्यामा चितवनमा सवारीसाधन विक्री भई नयाँ दर्ता हुने र करको दर बढी रहेकोले पनि राजश्वमा कमी आएको अर्यालले बताए । उनले चालु आवमा पनि अझै राजश्व कमी संकलन हुने अनुमान रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*