हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखा पाक्ने बिरामीको भिड

साझाकुरा
२०८० श्रावण २४, बुधबार १२:४९

हेटौंडा- सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छरु। यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् ।आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि यो संक्रमण अत्यधिक वृद्घि भइरहेको हेटौंडा स्थित सामुदायिक आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.सुनिल थकालीले जानकारी दिए । डा. थकालीले हाल आँखा अस्पालतमा दिनहुँ ३÷४ सय संख्यामा आँखा रोग संक्रमित आउने गरेको बताए ।

गत आइतवार एकै दिनमा मात्रै ४ सय ४५ जना आँखा पाकेको विरामी र अन्य आँखाको समस्या भएका विरामी गरी ७ सय जना आएको भन्दै यो रोग प्रकोपका रूपमा फैलिरहेको र महामारीकै रूप लिन सक्ने जोखिम रहेको बताए । ‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ डा. थकालीले भने , ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको छ ।’

सामान्यतया मनसुनको समयमा बढी फैलने यो संक्रमण यस पटक भने विगतको दाँजोमा तीव्र रूपमा देशभर फैलिरहेको उनले बताए । उनले यस्तो अवस्थामा सावधान नअपनाएर सार्वजनिक स्थलमा घुलमिल ग¥यो भने अझै ठूलो महामारीको रुप सक्ने बताए । बालबालिकामा धेरै जोखिम हेटौंडा स्थित सामुदायिक आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.सुनिल थकालीका अनुसार यो
रोग बालबालिकाबाट शुरु हुने बताउँछन् ।

बालबालिकामा भाईरस संक्रमित बढि हुने र ‘ईम्युनिटी पावर’ विकास नहुँदा उनीहरुमा संक्रमण धेरै देखा पर्ने डा.थकालीले बताए । डा. थकालीले यस्तो अवस्थामा विद्यालयहरु बन्द गर्न सुझाव दिएका छन् । सबै भन्दा जोखिम विद्यालयमै हुने र बालबालिका संक्रमित बढि हुने कारणले गर्दा विद्यालय बन्द गर्न आग्रह गरे ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले विद्यालय बन्द गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । ‘हाल सामुदायिक विद्यालयहरु परीक्षा सकिएर बन्द नै छन् । त्यसैले पनि हामिले बन्द गर्ने विषयमा छलफल गरेका छैनौं,’ उनले भने , ‘विद्यालय सञ्चालन आउँदासम्म यो प्रकोप नरोकिए उपमहानगरले आवश्यक छलफल गरेर निर्णय गर्छ ।’ उनले निजी विद्यालयको हकमा छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

यसैबीच आँखा पाक्ने समस्याले प्रकोपको रुप लिएपछि हेटौंडाका विद्यालयहरुले समेत अभिभावकहरुलाई सचेत रहन पत्रचार गरेका छन् । आँखा पाक्ने समस्याबाट बालबालिकाहरुलाई बचाउन विद्यालयहरुले पत्रचार गरेका हुन् । विद्यालयहरुमा अहिले पहिलो त्रैमासिक परिक्षा चलिहरेकोले बिद्यायहरु बन्द गर्न समय समेत नभएकोले रोकथाम र सचेतता अपनाउन आग्रह गरिएको हेटौंडा २ को बालजागृती बोर्डिङ स्कुलमा प्रिन्सिपल विनोद सुवेदीले बताए ।

आँखा पाक्ने समस्या भएका बाल–बालिकाहरूलाई अनिवार्य रूपमा चस्मा लगाएर मात्र विद्यालयमा पठाउन, घरमा कसैलाई यो समस्या देखिएमा सकेसम्म बाल–बालिकाहरूलाई संक्रमित व्यक्तिबाट टाढा राख्न, आफ्नो बालबालिका हरूलाई परीक्षामा आवश्यक सामग्री अनिवार्य रूपमा घरबाट नै पठाउने र साथी भाईसँग साटासाट नगर्न सुझाव दिन अनुरोध गरिएको सुवेदीले बताए ।
संक्रमित बाल–बालिकालाई अनिवार्य रूपमा स्यानीटाइजर लिएर पठाउन, बेला बेलामा प्रयोग गर्न प्रेरित गर्न, कुनै पनि सामान चलाई सकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन लगाउन, सफा पानीले आँखा पखाल्न लगाउन बालबालिकाहरुलाई सिकाउने गरेको उनले बताए ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*