सरकारलाई ६१ लाख फिर्ता नगरेपछि बैंक खाता रोक्का गर्न पत्राचार

हेटौंडाको अनुदान दुरुपयोग प्रकरण
साझाकुरा
२०८० श्रावण २५, बिहीबार १०:५६

हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रभित्र वधशाला सञ्चालन गर्ने भन्दै प्रदेश सरकारसँग लिइएको ६१ लाख रुपैयाँ बढी अनुदान रकमको असुली प्रक्रिया निरन्तर अगाडि बढेको छ । यसअघि नै वधशाला सञ्चालनका लागि सरकारी अनुदान लिने कम्पनी र सञ्चालकसँग अनुदान रकम दुरुपयोग भएको ठहर भएपछि असुली प्रक्रिया अगाडि बढाइएको थियो । तर, कम्पनीको नाम नै परिवर्तन गरी सञ्चालक फरार भएपछि सरकारी रकम असुलउपर गर्ने सरकारी निकाय कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, काठमाडौंले हाल बैंक खाता नै रोक्न नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औद्यागिक क्षेत्रभित्र वधशाला सञ्चालन गर्ने भन्दै बफेलो क्वालिटी फुड प्रालिलाई २०७६ सालमा ६१ लाख २९ हजार बढी रकम अनुदान दिएको थियो ।अनुदान रकम दुरुपयोग भएको देखिएपछि मन्त्रालयले लामो समयको अध्ययन पश्चात रकम असुलउपरका लागि कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय काठमाडौंलाई पत्राचार गरेको थियो ।

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले रकम असुली प्रक्रिया अनुसार २३ चैतमा कम्पनीको नाममा ३५ दिने सूचना जारी गरेको थियो । अनुदान रकम लिएपछि थोरै समयमा फलामका संरचना ठड्याएर बफेलो क्वालिटी फुड कम्पनी गायब भएपछि घटना बाहिरिएको थियो । अनुदान रकम फिर्ता गर्ने सम्बन्धको सूचना र पटक–पटकको ताकेता पछि पनि सरकारीलाई रकम नबुझाएपछि बफेलो क्वालिटी फुड प्रालिका सञ्चालक सैयद रियाजउद्धिनको बैंक खाता रोक्का गर्न राष्ट्रय बैंकलाई पत्र काटिएको हो ।

वधशाला सञ्चालन गर्ने भन्दै कम्पनी नै मन्त्रालयसँग अनुदान माग्न आएको थियो । त्यतिबेला कम्पनीले वधशाला सञ्चालन गरेर मासु निर्यातमा चमत्कारिक काम गर्ने मौखिक बनावटी योजना देखाएर अनुदान रकम कुम्ल्याएको थियो । मन्त्रालयसँगको सम्झौतामा कम्पनीको प्रतिनिधिका रुपमा सैयद रियाजउद्धिनले हस्ताक्षर गरेका छन् । साविकको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग हेटौंडा औद्योगिक क्षेत्रमा वधशाला सञ्चालन गर्ने भन्दै १६ जेठ ०७६ मा सम्झौता भएको थियो ।

वधशालाको कुल परियोजना लागत १ करोड ४२ लाख ८४ हजार रहेकोमा सम्झौता अनुसार वधशाला सञ्चालनको लागत अनुमानअनुसारको रकमको ५० प्रतिशत बढीमा ७१ लाख ४२ हजार भुक्तानी हुने भनिएको थियो । तर, बफेलो क्वालिटी फुडले १ करोड ३१ लख १९ हजार ५ सय २४ रुपैयाँको सञ्चालन खर्च पेस गरेपछि ६१ लाख २९ हजार १ सय ६३ सय रुपैयाँ अनुदान पाएको थियो । सम्झौतामा अनुदान रकम दुरुपयोग हुन सक्ने देखेमा एक पटकलाई सचेत गराउने र सुधार नदेखिएमा एकपक्षीय रुपमा सम्झौता भ· गर्ने तथा हिनामिना भएबराबरको रकम दोस्रो पक्ष (बफेलो क्वालिटी फुड) बाट सरकारी बाँकी सरह असुलउपरको प्रक्रिया अगाडि बढाउन सक्ने उल्लेख छ ।

सरकारको अनुदान पाएपछि हाल कम्पनी गुमनाम छ । उद्योगले उत्पादन गर्ने भनिएको स्थानमा भौतिक संरचना नै छैन । उद्योगले आफ्ना मेसिनहरु बिक्री गरेर गायब भएको हो । यसअघि प्रदेशभर विस्तारित कृषि अनुदानको अनुसन्धान गर्न गठित कृषि अनुदान वितरण छानबीन उपसमितिले लेखा समितिलाई वधशालामा अनुदान हिनामिना भएको प्रमाणसहित प्रतिवेदन पेश गरेको थियो । प्रदेशको सार्वजनिक लेखा समितिले वधशाला खोल्ने नाममा सरकारी अनुदान दुरुपयोग भएको ठहर गर्दै छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा परिपत्रसमेत गरेको थियो । अख्तियारले पनि छानबीन गरिरहेको छ ।

लेखा समितिले छानबीन उपसमितिको अनुसन्धान प्रतिवेदनका आधारमा अनुदानग्राहीले सम्झौता विपरीत कार्य गरी अनुदान दुरुपयोग गरेको भन्दै असुलउपर गर्न मन्त्रालयलाई निर्देशन समेत समेत दिएको थियो । तर, मन्त्रालयले कम्पनीलाई सम्पर्क गर्न खोज्दा बफेलो फुड प्रालि सम्पर्कमै नआएपछि अन्ततः मन्त्रालयले गत चैत २० गते संघीय सरकार अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा अनुदान रकम असुल गरिदिन भन्दै पत्र पठाएको थियो । केन्द्रीय तहसिल कार्यालयले पनि अनुदान रकम बुझाउन भन्दै सैयद रियाजउद्धिनको नाममा गत चैत २३ गते ३५ दिने सूचना जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*