आजदेखि बागमतीको सबै जिल्लामा लम्पी स्किनविरुद्व खोप लगाइने

साझाकुरा
२०८० श्रावण २५, बिहीबार ११:२६

हेटौंडा- किसानका लागि महासमस्याको रुपमा फैलिदैं आएको लम्पी स्किन प्रकोपविरुद्ध २५ साउनबाट बागमती प्रदेशका १३ जिल्लाको ९१ वटा स्थानीय तहमा अभियानको रुपमा खोप लगाइने भएको छ ।प्रदेश सरकारले लम्की स्किन नियन्त्रणको लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो अभियानभरप्रदेशको १३ जिल्लाका ५० हजार गाई, भैंसी तथा चौरीमा खोप लगाइने छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले लम्पी स्किन नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

यो अभियान एक सातासम्म चल्नेछ । हाल प्रदेशको सबै जिल्लामा गरी २ लाख ४ हजार ९ सय ८८ पशु लम्पी स्किनबाट प्रभावित छन् । जसमा १ लाख १० हजार ४ सय ४० पशु सक्रिय संक्रमित छन् । हालसम्म ६ हजार २९१ वटा पशुको मृत्यु भइसकेको छ । प्रकोप फैलिएसँगै १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाइसकिएको छ । अब २५ साउनबाट सुरु गरिने अभियानबाट ५० हजार पशुमा खोप लगाइने छ । यसको लागि ४८ हजार ५५० थान खोप सम्बन्तिध निकायमा पु¥याइएको छ भने, अभियानको क्रममा अपुग खोप खरिद गरिने छ ।

यो खोप लगाएवापत किसानले पैसा तिर्नु पर्दैन । यो खोप लगाएपछि गाई भैसी वा चौरीलाई एक वर्षसम्म एन्टिभाइरसको रुपमा काम गर्ने मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले बताए । लम्पी स्किन यो रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशु बिरामी हुने र करिब ५ प्रतिशतसम्म मृत्युदर देखिने उनले बताए । खास उपचार नभएको र लम्पी स्किनको कारण धेरै संख्यामा गाई÷भैसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आएको मन्त्रालयले जनाएको छ ।

यसकारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दै अभियानको रुपमा खोप कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस रोगको नियन्त्रणको लागि प्रभावकारी उपाय खोप लगाउने नै भएकोले लम्पी स्किनविरुद्ध खोप अभियान कार्यक्रम संचालन एक महत्वपूर्ण कदम हुन सक्ने शर्माले बताए । लम्पी स्कीनविरुद्धको खोप अभियान मार्फत प्रदेशभरी लम्पी स्किन न्यूनीकरणका लागि जनचेतना फैलाउने काम पनि सँगै गरिने मन्त्रालयका सचिव शरण पाण्डेले बताए ।

कार्यक्रम संचालनका लागि प्रत्येक जिल्लामा स्थानीय तहको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रमार्फत खोपकार्य संचालन गरिने उनले बताए । खोप अभियानको लागि प्रत्येक स्थानीय तहको लागि आवश्यकता अनुसार स्थानीय तहको समन्वयमा विज्ञकेन्द्रमार्फत भ्याक्सिनेटरहरु समेत नियुक्तिगरिएको पाण्डेले बताए । खोप अभियान पश्चात पनि रोगको अवस्थाका आधारमा खोप कार्यलाई निरन्तरता दिइने मन्त्रालयका सचिव पाण्डेले बताए ।

मन्त्रालय मातहतको प्रदेश दुग्ध विकास बोर्डद्वारा जिल्ला दुग्ध उत्पादक संघ तथा अन्य सरोकारबालासँग खोप अभियान सम्बन्धी समन्वयात्मक बैठक बसेर यसबारे जानकारी र प्रचारप्रसारको काम पुरा गरिसकेको बताइएको छ । सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रलाई आवश्यक खोप कार्ड, खोप अभिलेख फाराम तथा जनचेतनामूलक ब्रोसर कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट उपलब्ध गराइएको छ ।

लम्पी स्किन भाइरसबाट गाई÷भैँसीमा लाग्ने एक प्रकारको भेक्टर बोर्न विषाणुजन्य संक्रामक रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन । बागमती प्रदेशमा पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा गाई÷भैँसीपालनको महत्वपूर्ण भूमिका रहेको छ । यस प्रदेशमा करिब १० लाख ९९ हजार ५६० गाई, ८ लाख ०६ हजार २१३ भैँसी रहेको छ भने वार्षिक दूध उत्पादन ४ लाख ५५ हजार १४१ मेट्रिकटन रहेको छ । बागमती प्रदेशमा २०७९ पुस महिनामा मकवानपुर जिल्लामा देखिए यता लम्पी स्किनको प्रकोप १३ जिल्लामा देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*