डेंगीबाट हेटौंडामा एक जनाको मृत्यु, नगरबासीमा उच्चसतर्कता देखिएन

साझाकुरा
२०८० श्रावण २६, शुक्रबार ११:११

हेटौंडा- हेटौंडामा ‘एडिज एजिप्टाई’ र ‘एडिज अल्वोपिक्ट्स’ जातको पोथी लामखुट्टेको टोकाईबाट हुने डेंगी संक्रमणका कारण बिहीबार एकजनाको ज्यान गएको छ ।यसवर्ष डेंगी रोग संक्रमणका कारण मकवानपुरमा पहिलोपटक एकजनाको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका छन् । डेंगी संक्रमणबाट हेटौंडा उपमहानगरपालिका–१२, पदम–पोखरीका ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको छ । तीन दिनअघि हेटौंडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउँदा प्रधानमा डेंगी संक्रमण पुष्टि भएको थियो । डेंगी देखिएपछि उनी घर गएका थिए ।

सञ्चो अस्पतालका डा. विकास थापाका अनुसार डेंगी संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधबार थप उपचारका लागि
भरतपुर गएका प्रधानको बिहीबार उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय हेटौंडामा डेंगी संक्रमितको संख्या बढिरहेको छ ।

यसैगरी, मकवानपुरमा पछिल्लो २४ घण्टाभित्र थप १२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । १२ जना नयाँ डेंगी संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, बिहीबार थपिएसँगै हेटौंडामा डेंगी संक्रमणको कूल संख्या ५४ जना पुगेको छ । जसमा २८ जना पुरुष र २६ जना महिला रहेका छन् । यो तथ्यांक साउन १ गतेदेखि बिहीवार दिउससम्मको हो । यस्तै, जिल्लामा साउन १ गतेदेखि हालसम्म ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना महिला र ३१ जना पुरुष रहेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको हो । ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा संक्रमितको संख्या ६ हजार ३ सया पुगेको छ । मोरङमा १ हजार ३ सया ९३, धादिङमा १ हजार १ सय १०, कास्कीमा २ सय २७ , धनकुटामा २ सय २३, दार्चुलामा १ सय ९२, झापामा १ सय ८२, काठमाडौंमा १ सय ५३, संखुवासभामा १ सय ४८ र तनहुँमा ७९ वटा संक्रमण देखिएका छन् ।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४ सय २० जनामा डेंगी संक्रमण भइसकेको छ । बागमती प्रदेशमा १ हजार ५ सय ४७, गण्डकी प्रदेशमा ४ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४ जना, लुम्बिनी प्रदेशमा २ सय १९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
(ईडीसीडी)ले जानकारी दिएको छ ।

डेंगी संक्रमण बढ्नुको कारण बढ्दो सहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुले हो । प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरुमा जमेको सफा पानीमा लाम्मखुट्टेले अण्डा पार्छ । अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । डेंगी सङ्क्रमित लामखुट्टेको जीवनचक्र चार साताको हुन्छ । यसले एकपटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ । यो लामखुट्टेले जमेको सफा पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन । यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा
रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ ।

डेंगीबाट बच्न घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्ने चिकित्सकहरु बताउँछन् । बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ । घरभित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ । औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । डेंगीको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ ।

हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेका अनुसार नगरबासीले उच्चसतर्कता अपनाउने कार्यमा हेलचेक्र्याईं गरिरहेको बताएका छन् । नगरबासीले आफ्नो घर वरपरको सरसफाईमा ध्यान नदिएको, लामखुट्टे नियन्त्रणमा चासो नदिएको प्रबक्ता न्यौपानेले बताए । उपमहानगरका सबै वडा कार्यालयले टोलविकास संस्थामार्फत् डेंगी रोग संक्रमण गराउने लामखुट्टे फैलन नदिन औषधि छिट्ने काम गरिरहेको भएपनि नगरबासीले खासै चासो देखाएका छैनन् । नगरबासीले आफ्नो घर, आँगन, चोक, सफा राख्ने कार्य आफैंले गर्नुको सट्टा नगरपालिकाले आएर गर्नुपर्छ भन्ने गरेको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*