४ करोडको लगानी आँटेर ड्रागन फलाउँदै एक युवा

साझाकुरा
२०८० श्रावण २७, शनिबार १५:३८

हेटौंडा-= हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका युवा किसान फेन्चु रुम्बा विगत तीन वर्षदेखि ‘ड्रागन फ्रुट’ खेती गरिरहेका छन् । आफूले थालेको यो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी द· छन् अहिले ।रुम्बालाई हेटौंडा उपमहानगरपालिकाले कृषिका लागि अनुदानका रुपमा १ लाख सहयोग गरेको थियो । १ लाखले केही गर्न नपुग्ने भएपछि रुम्बाले थप दुई करोड कृषि विकासबैंक हेटौंडा शाखाबाट ऋण लिए र आफ्नै पैसा थप हालेर करिब ४ करोड लगानीमा खेती सुरुगरेका थिए ।

मनहरी–१ बालजीवन ज्योति माध्यमिक विद्यालयमा शिक्षक रहेका रुम्बाले शिक्षक पेशा छाडेर ‘एमएनएस एग्रो प्रा.लि कृषि फार्म’ दर्ता गरी ड्रागन फ्रुट्सको खेती सुरु गरेका हुन् । रुम्बालाई उनकी श्रीमतीले सहयोग गरेकी छन् । रुम्बालाई सुरुमा ड्रागन फ्रुट्स उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो । अहिले रुम्बाको करिव एक बिघा बारीमा ८ हजार बोट ड्रागन फ्रुट्सका बोट रहेका छन् । रुम्बाले ड्रागन फ्रुट्सका साथै खरबुजा, एभोकाडो, मेवा, तकारी टनेलसँगै बाख्रा, बोकाहरु पनि पालेका छन् । तरकारीको खेती समेत गरेरदोहोरो फाइदा लिन सफल भएको रुम्बा बताउँछन् ।

रुम्बा ड्रागन फ्रुट्स खेतीकै कारण हेटौंडाकै सफल किसान बन्न सफल भइसकेका छन् भने उनले राष्ट्रपति कृषक पुरष्कारसमेत हात पारिसकेका छन् । रुम्बा अहिले बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किन्ने गरेको बताउँछन् । सबैलाई यो फल चाख्न भ्याईनभ्याई भएको देख्दा भने खुशी लाग्ने उनले बताए । अघिल्लो वर्षमा करिव ५ लाख रुपैयाँको फल बेचेको रुम्बाले अहिले पनि ४ लाख रुपैयाँसम्मको फल बेच्न भ्याइसकेका छन् । अर्को फल पनि फल्ने बेला भएको उनी बताउँछन् । फल फलेको ३० औं दिनमा पाकेरखानको लागि योग्य हुने र टिपेरराख्दा १० र १५ दिनसम्म नबिग्रिने उनले बताए ।

ड्रागन फ्रुट्स गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल्ने गर्छ । बर्षमा चारचरणसम्म यो फल फल्ने गर्छ । यसमा फूलफूल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । ड्रागन फ्रुट्स रोपेको १६ बर्षसम्म उत्पादन लिन सकिन्छ । हाल यो फल प्रतिकेजी ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । रुम्बाले यो फलको बिरुवा पनि प्रतिगोटा २५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । हेटौंडा–१३ का रुम्बा मात्रै होइन अरुले पनि विस्तारै यसको व्यावसायिक खेती थालेका छन् ।

रुम्बाको बारीको आकर्षक ड्रागन फ्रुट्स हेर्न धेरै मानिसहरु फार्म पुग्ने गरेका छन् । ड्रागन फ्रुट्स नौलो फल भएकोले यसको बोटको हाँगा कटिङ गरेररोपिन्छ । एउटै बोटबाट पनि अरु विरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक विरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाईबाहेक अन्य कुनै मिहेनतगर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको उनले सुनाए ।

ड्रागन फ्रुट्स खेतीमा सफल भएका रुम्बाले कृषि पेशामा लागेर पनि अन्य व्यवसायमा जस्तै राम्रो आम्दानी हुने बताए । खेतीमा राम्रो भविष्य भएको भन्दै रोजगारीका लागि विदेश जाने युवालाई गाउँमै बसेर खेती गर्नसमेत आग्रह गर्छन् उनी ।मनहरी, हाँडीखोला, हर्नामाडी, हटियालगायतका क्षेत्रमा पनि ड्रागन फ्रुट्स खेती गर्ने युवाको संख्या बढेको छ । यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ ।

स्वादका पारखिहरुले ड्रागन फललाई भगवानले दिएको उपहार पनि भन्दछन् । फलको तौल २०० ग्रामदेखि १.२ केजीसम्मको हुन्छ । यस्को खेती खास गरी थाईल्याण्ड, चाइना, भियतनाम, इन्डोनेसिया, ताइवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक (कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरेको पाइन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी रानी पनि भनिन्छ ।
यस्को विरुवा एकपटक लगाएपछि १५–२० वर्षसम्म उत्पादन लिन सकिन्छ ।

यो एक प्रकारको उष्णप्रदेशीय हावापानीमा हुर्कने विरुवा हो । यो प्रजातिको विरुवा वर्षभरी एकनासकोपानी पर्ने क्षेत्रमा राम्रोसँग हुर्कने गर्दछ । यस्को खेती समुन्द्री सतहवाट १०० देखि ८०० मिटरसम्मको क्षेत्रमा व्यावसायिक रुपमा गर्न सकिन्छ । पूर्णरुपमा सूर्यको प्रकाश लाग्ने स्थान यस्को लागि उपयुक्त मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*