हेटौंडामा उठेन साँढे दुई अर्ब ३७ करोड विद्युत महशुल

निशा गुरुङ
२०८० भाद्र १, शुक्रबार १९:१५

हेटौंडा- नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको उठ्न बाँकी विद्युत महसुल दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन ३० गतेसम्म विद्युत महसुल उठ्न बाँकी रहेको बिवरण प्राधिकरणका लेखापाल हरि खड्काले जानकारी दिए । लेखापाल खड्काका अनुसार हेटौंडाको शिवम् सिमेन्ट उद्योगले मात्रै नेपाल विद्युत्प्राधिकरणलाई तिर्न बाँकी महशुल दुई अर्ब २४ करोड रुपैयाँ पुगेकोछ । हेटौंडा–१६ मा रहेको शिवमले उद्योग सञ्चालनका लागि लिएको डेडिकेटेड फिडरको महसुल तिर्न आनाकानी गर्दै आएको छ । २०७२ देखि ०७५ सम्म शिवमले प्रयोग गरेको डेडिकेटेड फिडरको महसुल तिर्न अटेर गर्दै आएको हो ।

६ वर्षदेखि डेडिकेटेड फिडरकोमहशुल नतिरेको शिवमले सर्वोच्च अदालतलाई पनि अटेर गर्दै आएको छ । तीन वर्षसम्म प्राधिकरण वितरण केन्द्र हेटौंडाको कमाने शाखाबाट डेडिकेटेड फिडर लिएको शिवम्ले प्राधिकरणको महसुल तिर्न अटेर गर्दै सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि ०७५ सालमै डेडिकेटेड लाइनको विद्युत् महसुल उठाउन प्राधिकरणको नाममापरमादेश जारी गरेको थियो ।तर, सर्वोच्चको आदेशलाई पनि अटेर गरेको शिवमले अझै पनि महसुल नतिर्ने बताउँदै आएको छ । शिवमले प्राधिकरणलाई तिर्नुपर्ने महशुल एक अर्ब २१करोड मात्रै भए पनि लामो समयसम्म महशुल नबुझाउँदा हाल जरिवाना सहित दुई अर्ब २४करोड रुपैयाँ पुगेको प्राधिकरणका लेखापाल खड्काले बताए । उनका अनुसार प्राधिकरणले पटकपटकरकम तिर्न ताकेता गर्दा पनि शिवमले अटेर गर्दै आएको छ । शिवमले उद्योग सञ्चालनका लागि छुट्टै विद्युत् प्रसारण लाइन मागगरेपछि प्राधिकरणले कमाने शाखाबाट डेडिकेटेड फिडर उपलब्ध गराएको खड्काले बताए ।

लोडसेडिङ् हटाउने भन्दै ०७५ सालबाट डेडिकेटेड फिडरको व्यवस्था हटेपछि प्राधिकरणले शिवमलाई महसुल तिर्न आग्रह गर्दै बिल पठाएको खड्को भनाइ छ । ३ वर्षसम्म डेडिकेटेड फिडरबाट विद्युत् प्रयोग गरेको उद्योगले महशुल नतिर्ने भन्दै सर्वोच्च गएको खड्काले बताए । तर, सर्वोच्चले पनि उद्योगविरुद्ध र प्राधिकरणको पक्षमा आदेश दिएयता शिवम् महशुल तिर्नबाट भाग्दै आएको छ । खड्का अनुसार शिवम् सिमेन्टको मुद्दामा सर्वोच्च र उच्चअदालते फैसलागरेपनि जिल्ला अदालतमा विचाराधीन रहेकोले लाईन काट्न नमिलेको बताए । ‘सर्वोच्च र उच्चअदालते प्राधिकरणको पक्षमा फैसला गरेपनि जिल्ला अदालतमा यो मुद्दा विचाराधीन अवस्थामै छ,’ खड्काले भने । उनका अनुसार शिवमले डेडिकेटेड फिडरको महशुल नतिरे पनि मासिक शुल्क भने तिर्दै आएको छ ।

एक वर्षमा २ अर्व ३९ करोड विद्युत महशुल संकलन

नेपाल विद्युत प्राधिकरण हेटौंडा शाखाले गत आर्थिक वर्ष २०७९÷८० मा २ अर्व ३९ करोड २३ लाख ६७ हजार ५ सय ११ रुपैयाँ विद्युत महशुल संकलनगरेको छ । जस्मा प्राधिकरण हेटौंडा शाखाले २ अर्व ३८ करोड १० लाख ८९ हजार २ सय ६ रुपैयाँको विद्युत विक्री गरेको लेखापाल खड्काले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को खुद संकलन भन्दा कम रहेको छ ।
गत आव २०७८÷७९ प्राधिकरण हेटौंडा शाखाले दुई अर्व ५२ करोड ६२ लाख ६५ हजार ८ सय ९२ रुपैयाँ संकलन गरेको थियो भने दुई अर्व ५३ करोड ३६ लाख ८० हजार ६ सय ७४ रुपैयाँको विद्युत विक्री गरेको थियो । तर, गत अघिल्लो आवमा प्राधिकरणको तारहरु सटडाउन हुने समस्या र मर्मत गर्दै दुई महिना लाग्दा रकम कम संकलन भएको जनाएको छ । तारहरुमा समस्या र थप आर्थिक संकटका कारण उद्योगहरु सञ्चालन नहुँदा पनि यो अवस्था सिर्जना भएको लेखापाल खड्काले जानकारी दिए ।

९ सय ४२ कालोसूचीमा
विद्युत प्राधिकरण हेटौंडा शाखाले हालसम्म विद्युत बक्यौता नतिर्ने ९ सय ४२ जनालाई कालोसूचीमा राखेको छ । प्राधिकरणले पटकपटक महशुल तिर्न ताकेता गरेपनि अटेर गरेका ९ सय ४२ जना ग्राहकलाई तीन पुस्तासम्म मिटर जडान गर्न नपाईने गरी कालोसूचीमा राखिएको लेखापाल खड्काले बताए । उनका अनुसार कालोसूचीमा रहेका ५ जनाले विद्युत बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको र ५ जनाबाट १ लाख २२ हजार ५ सय ९२ रुपैयाँ संकलन गरेको छ ।

२६ सय ९ वटा ग्राहकको लाईन काटियो

विद्युत प्राधिकरण हेटौंडाले गत आव २०७९÷८० मा २६ सय ९ वटा ग्राहकरुको लाईन काटेको थियो । विद्युत बक्यौता रकम बुझाउन ताकेता गरेपनि नतिर्ने ग्राहकको लाईन काटेको हो । २६ सय ९ वटा ग्राहकबाट प्राधिकरण हेटौंडा शाखाले ७ करोड ४२ लाख ८० हजार ४ सय ९५ रुपैयाँबराबरको रकम उठाउनुपर्ने भएपनि १८ सय ४३ ग्राहकबाट मात्रै ६करोड ३७ लाख ३२ हजार ७ सय ६ रुपैयाँ उठाएको लेखापाल खड्काले बताए ।

थपियो ४ हजार नयाँ ग्राहक

प्राधिकरणमा हाल ग्राहक संख्या ७४ हजार ९४ जना रहेका छन् । गत आव २०७९÷८० को एक वर्षमा ४ हजार ६ सय ७४ नयाँ ग्राहक थपिएको लेखापाल खड्काले जानकारी दिए ।नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिकाका सबै क्षेत्र र कैलाश गाउँपालिका तथा भीमफेदी गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा उपलब्ध गराएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहानगर र ईन्द्रसरोवर गाउँपालिकाको सबै क्षेत्र तथा भीमफेदी गाउँपालिकाको ३ र ९ नम्बर वडा, कैशाल गाउँपालिकाको १, २, ५ र ६ नम्बर वडा भने थाहानगरस्थित नेपाल विद्युत प्राधिकरणको पालुङ वितरण केन्द्रले विद्युत सेवा प्रदान गरिरहेको छ ।

चोरी घट्यो

प्राधिकरण हेटौंडामा चोरी गर्ने संख्या भने घटेको छ । विगतमा धेरै चुहावट भएपनि अहिले सचेतनाका कारण चोरी संख्या घटेको पाइएको हो । विद्युत प्राधिकरण हेटौंडा शाखाका अनुसार अघिल्लो वर्षमा २१ जनाले विद्युत चोरीगरेको पाइएको छ । जस्मा चोरी गर्ने २१ जनाबाट प्राधिकरणले १ लाख ६६ हजार ९१ रुपैयाँ जरिवाना लिएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*