मनहरीमा १७ जना प्रधानाध्यापक एकैपटक सरुवा

साझाकुरा
२०८० भाद्र ३, आईतवार १०:०५

हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार गर्ने प्रतिबद्धतासहित एकैपटक १७ जना प्रधानाध्यापकको सरुवा गरेको छ । गाउँपालिकाले कार्यबिधि निर्माण गरेर प्रधानाध्यापक सरुवा गरेको हो ।गाउँपालिकाले ‘शिक्षामा परिवर्तन’ भन्ने नाराका साथ पहिलो चरणमा प्राथमिक तहका प्रधानाध्यापकलाई एकैपटक सरुवा गरेको हो । यसपछि निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापक तथा शिक्षकहरुलाई क्रमश सरुवा गरिने गाउँपालिकाले जनाएको छ । शुक्रबार सरुवा भएका प्राथमिक तहका प्रधानाध्यापकलाई गाउँपालिकाले सरुवाको पत्रसहित आगामी जिम्मेवारी प्रदान गर्दै विदाई समेत गरेको छ ।

गाउँ शिक्षा समितिको साउन २९ गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्यको बजेट बढाएको छ । यस्तो अवस्थामा अब नतीजमुखी काम गर्नुपर्ने हुन्छ । त्यसकारण पहिलो चरणमा प्रअको सरुवा गरिएको हो ।’ उनले भने ।माध्यमिक कक्षा संचालन भइरहेका विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न गाउँपालिकाले छिट्टै प्रस्ताव माग गर्ने तयारी भइरहेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार शिक्षक सरुवामा कुनै पूर्वाग्रह राखिएको छैन । ‘हामीले शिक्षकसँगको सहमतिमै सरुवा गरेका हौं ।’ उनले सरुवा भएका शिक्षकहरुलाई मासिक १५ सय रुपैयाँ अतिरिक्त भत्ताको समेत व्यवस्था गरिएको बताए । ‘हाम्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो । प्राथमिक तहबाटै शिक्षालाई बलियो बनाएर लैजाने योजना अनुसार यसो गरिएको हो ।’ उनले दुर्गमका शिक्षकका लागि छुट्टै भत्ताको समेत व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पालिकाका सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको बताए । ‘शिक्षक सरुवा, आवश्यक भौतिक पूर्वाधार निर्माण र दरबन्दी मिलान सवै काम हामी क्रमशः गर्नेछौं ।’ अर्यालले भने–शिक्षा क्षेत्रको सुधारका लागि सर्वपक्षीय सहमति जुटाएर काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*