मकवानपुरमा डेंगु संक्रमित १ सय ७३ पुगे

साझाकुरा
२०८० भाद्र ४, सोमबार ०९:१३

हेटौंडा- मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या १ सय ७३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १ सय ७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यालयको गत साउन १ गतेदेखिको तथ्यांक अनुसार यो संख्यामा डेंगु संक्रमित भएका हुन । हालसम्म जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिमा १ सय २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा २ जना, भीमफेदी गाउँपालिकामा ४ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये थाहा नगरपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा डेंगू संक्रमित फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।यसैगरी, देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ । हालसम्म सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इडिसीडीको तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८, सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ । गतवर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*