मनहरीमा वन समूहको २५ लाख हराएपछि पदाधिकारीको हारगुहार

साझाकुरा
२०८० भाद्र ५, मंगलवार ०८:५३

हेटौंडा=- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरीमा रहेको एक सामुदायिक वन उपभोक्ता समूहको खाताबाट २५ लाख रुपैयाँ हराएपछि पदाधिकारीहरु हारगुहारमा लागेका छन् ।वनको पैसा चोरी भएको घटना भने हालसालैको नभई १४ माघ २०७९ को हो । मनहरी–६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००१००००२४६५००१ बाट २५ लाख रुपैयाँ चोरी भएको घटना यसअघि जिल्ला प्रहरी कार्यालयमा पनि आइपुगेको थियो ।

तत्कालीन एसपी बामदेव गौतमको कार्यकालमा वनको पैसा चोरी गरेको आरोपितलाई ल्याएर पैसा फिर्ता गर्ने सहमतिपछि पठाइएको थियो । उक्त सहमतिअनुसार चोरीको आरोप लागेका मनहरीकै स्थानीयले रकम फिर्ता नगरेपछि वनका पदाधिकारीहरु अझै पनि हारगुहारमै छन् ।वनको २५ लाख रकम हेटौंडामै रहेको कामना सेवा विकास बैंकमा रहेको मनहरी–६ डिपाडस्थित दिदीबहिनी होटलका सञ्चालक ४२ वर्षीय लालकुमार थिङको खाता नम्बर ४९१४१००५५३८७७०००००१ मा रकम ट्रान्सफर भएको वन समूहका पदाधिकारीले आरोप लगाएका छन् ।

वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार विश्वकर्मा वन्यजन्तुको लागि कुवा र काठेपुल निर्माण सम्पन्न पश्चात समितिको बैठक बसी आवश्यक अनुसार पैसा निकासी गर्न चेक झोलामा बोकेर हिँडेको र होटलमा खाजा खानेबेला सञ्चालकले चेक चोरेर रकम झिकेको दाबी गरिएको छ । होटलमा शौचालय पुगेको बेला चेक हराएको भोलीपल्ट थाहा पाएपछि अध्यक्ष विश्वकर्माले वन समितिको बैठक बोलाएर चेक हराएको र प्रहरीको जाहेरी दिने तथा सबडिभिजन वन कार्यालय मनहरीमा जानकारी गराउने निर्णय गरेका थिए ।

‘चेक बुकको हस्तक्षरयुक्त दुईवटा चेक हराएको थियो । चेक हराएको केही दिनमै बैंकमा पुगेर बुझ्दा पैसा अरुकै खातामा माघ १८ गते ट्रान्सफर भइसकेको पायौं ।’, अध्यक्ष विश्वकर्माले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै घटना सम्झिए । पैसा आफूले खाजा खाएकै होटल सञ्चालक थिङको खातामा ट्रान्सफर भएको र थिङले नै चेक चोरी गरेर पैसा आफ्नो खातामा ट्रान्सफर गरेको उनको दाबी छ । विकले थिङलाई फोन सम्पर्क गरी यस विषयमा सोधपुछ गर्दा आफूलाई अश्लील शब्द प्रयोग गरी फसाइसकेको र मान्छे लगाई ज्यान मार्ने धम्की दिएको दुःखेसो गरेका छन् । वन समूहका पदाधिकारीहरु यतिबेला ज्यान सुरक्षाको माग गर्दै र चोरी भएको रकम फिर्ता ल्याउन प्रहरीदेखि सरोकारवाला निकायसँग हारगुहार गरिरहेका हुन् ।

अध्यक्ष विश्वकर्माले ज्यान मार्ने धम्की आएपछि आवश्यक कारबाही गर्न र आफ्नो जिउधन र शान्तिसुरक्षाका लागि प्रहरीकोमा निवेदन दिएका छन् । ‘म लालकुमारबाट असुरक्षित छु । मैले जानाजान फसाउन यस्तो गरेको, जे गर्न सक्छस् गर भन्दै मलाई धम्क्याउने काम भएको छ । म कसरी त्यत्रो पैसाको व्यवस्थापन गर्न सक्नु ? लालकुमारविरुद्ध उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय, इलाका
प्रहरी कार्यालयमा पटकपटक धाएको छु । तर, अन्तिममा मात्र जाहेरी दर्ता भएको थियो ।’, उनले भने । कोषको रकम व्यक्तिले चोरेपछि वन समूहले फागुन ५ गते बैठक राखेर विकास भनिने लालकुमार थिङलाई कारबाही गर्न कानुनी प्रक्रिया थाल्ने निर्णय गरिएको उनले बताए ।

घटनापछि प्रहरीमा निवेदन दिई पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा चलाई फागुन २० गतेभित्र रकम जम्मा गर्ने ‘मौखिक भाका’ दिएर छाडिएको अध्यक्ष विश्वकर्माले बताए । प्रहरीले रकमको विषयमा कुनै प्रकारको लिखित कागज नगरेको उनको भनाई छ । तर, पैसा जम्मागर्ने सर्तमा आरोपितलाई छुटाइएपछि थिङ सम्पर्कविहीन भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*