मकवानपुरका तीन खेलाडी यू–१६ राष्ट्रिय टोलीमा

साझाकुरा
२०८० भाद्र ५, मंगलवार ०८:५४

हेटौंडा- नेपालको उमेर समूह (यू–१६)को राष्ट्रिय फुटबल टोलीमा मकवानपुरका तीनजना खेलाडी अटाएका छन् ।भादौ १५–२५ सम्म भुटानको थिम्पुमा साउथ एसियन फुटबल महासंघ (साफ)ले गर्ने युथ–१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको अन्तिम छनोटमा मकवानपुरका तीनजना खेलाडी अटाएका हुन् । अघिल्लो संस्करणको उपविजेता रहेको नेपालले बन्द प्रशिक्षणपछि २३ जनाको टोली तयार गरेको छ । मकवानपुर घर भई ए डिभिजन क्लबको युथ–१६ टिममा अर्थात न्युरोड टिम एनआरटीका गोलरक्षक विशेष बानियाँ र फरवार्ड सन्तोष गोङ्वा राष्ट्रिय टोलीमा परेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लबको युथ–१६ टिमका डिफेन्डर मकवानपुरका भुवन कामी पनि टोलीमा अटाएका हुन् ।

हेटौंडा–२ वनस्खण्डी घर भएका बानियाँ विगत तीन वर्षदेखि एन्फाको युथ परियोजनाअन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेका थिए । उनी ल्याबोरेटरी स्कुलमा कक्षा १० मा अध्ययन गर्छन् । उनले स्कुलस्तरको प्रतिष्ठित प्रतियोगिताहरु सैनिक कप, आईजिपि कपलगायतका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेर आफूलाई उमेर समूहमा अब्बल खेलाडीमा ठहराएका छन् । शिक्षा विकास शिशुसदनमा अध्ययनरत् हेटौंडा–१९ घर भएका सन्तोष न्युरोड टिम एनआरटीमा खुल्ला छनोटमार्फत आवद्घ भएका थिए ।

लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबको युथ–१६ टिमलाई एनआरटीले ५–१ गोल अन्तरले बिजयी भएको जसमा पाँचै गोल सन्तोषले गरेका थिए । उनी लिगको पहिलो ह्याट्रिक गर्ने खेलाडी र जारी युथ–१६ लिगको टप स्कोरर हुन् । सात वर्षको उमेरमा बिजुलीको ट्रान्सफर्मरमा परेर दोस्रो जीवन पाएका भुवन राष्ट्रिय टोलीमा अटाए । हेटौंडा–१० भुटनदेवीरोड बस्ने भुवन पनि विगत तीन वर्षदेखि एन्फाको युथ परियोजना अन्तर्गत त्रिभुवन आर्मी युथ एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*