रहेनन् साहित्यकार तुल्सी थापा
हेटौंडा- चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साहित्यकार तुल्सी थापाको ७८ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको छ । साहित्यकार थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो ।साहित्यकार निमेष निखिलका अनुसार थापाको पार्थिव शरीर चितवनको देवघाट धाममा अन्तिम संस्कार गर्ने तयारी परिवारले गरेको छ । शनिबार देवघाटधाममा अन्तिम संस्कारका लागि हेटौंडाबाट ३ वटा बसमा सहभागी हुन जाने तयारी गरिएको साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
मुटुसम्बन्धी समस्या भएका कारण पेसमेकर समेत जडान गरिएकोले पेसमेकर निकाल्न केही समय लाग्नेछ । शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिएका छन् ।
थापाको दाना कविता संग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह’ (नाटक २०६१) र कथासंग्रह ‘फरक आकाश’ (२०७२) प्रकाशित छन् । थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवात समेत गरेका थिए । थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष समेत हुन् । थापाले गोरखादक्षिणबाहु चौथो (२०४४), नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका थिए ।
थाहानगरस्थित जनकल्याण माविमा २०२७–२०३१ र २०३४–०३६ सम्म प्रधानाध्यापकको भूमिकामा काम गरेका थापाले हाल कैलाश गाउँपालिका नामटारस्थित कालिका माविमा पनि लामो समय प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । चेपाङ भाषा तथा संस्कृतिमा पनि योगदान गरेका थापा हेटौंडा–११ का स्थायी बासिन्दा हुन् । शैक्षिक सुधारक, साहित्यिक ब्यक्तित्व, शालीन, मृदुभाषी, सरल स्वभावका, सबैका प्रिय तुल्सी थापा सरको देहावसानको खवरले दुखित बनाएको भन्दै दिवम्गत आत्माको चीरशान्तिको कामना गर्दै सामाजिक सञ्जालमा ब्यापक रुपमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
स्वर्गीय थापाको अन्तिम संस्कारमा सहभागी हुन चाहनेहरुका लागि शनिबार बिहान ६ बजे साहित्य संगमबाट र ६ः३० बजे त्रिभुवन मावि नवलपुरबाट सवारी साधनको ब्यवस्थापन गरिएको संगमले जनाएको छ ।