५१ वटाको नवीकरण, स्वरुप फेरिएका तीनसय बढी फर्किए

हेटौंडामा चल्ने तीन पाङ्ग्रे सवारीको नवीकरण सुरु
साझाकुरा
२०८० भाद्र ११, सोमबार १०:२१

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा तीन पाङ्ग्रे सवारीको व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाद्वारा लागू गरिएको स्टीकर प्रणालीलाई व्यवस्थित बनाउन आइतबारदेखि नवीकरण कार्य सुरु गरिएको छ । आइतबार नवीकरण गर्न आएका तीन पाङ्ग्रेमध्ये ५१ वटाको मात्र नवीकरण भएको छ ।स्वरुप परिवर्तन (मोडिफाई) गरी दुर्घटना बढाउने सम्भावना भएका तीनसय भन्दा बढी नवीकरण गरिएको स्टिकर टाँस्न आएका तीन पाङ्ग्रे सवारीहरुलाई फिर्ता गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले बताए । ‘स्वरुप परिवर्तन गरिएका र सवारी ठीक हालतमा नभएका तीन सय बढी तीन पाङ्ग्रेलाई बनाएर ल्याउन पठाइएको छ’, प्रहरी निरीक्षक आचार्यले सुधार भएर आएपछि नवीकरण गरेर स्टिकर टाँसिने बताए ।

प्रहरी निरीक्षक आचार्यका अनुसार नवीकरण गर्न आएका अटोहरुको हेडलाइट, ब्याकलाइट र साइड लाइट नबल्ने, अनावश्यक स्टिकर टाँसेर सिसामा दृष्टि समस्या भएको, अटोका ब्याक स्क्रिन छोपिएको, लुकिङ ग्लास थपिएको र समाजमा नकारात्मक सन्देश फैलिने कुराहरु लेखिएको तीन पाङ्ग्रेलाई नवीकरण नगरी फर्काइएको हो ।हेटौंडा क्षेत्रमा चल्ने अनुमति पाएका भन्दा धेरै अन्यत्र जिल्लाबाट समेत तीन पाङ्ग्रे सवारीहरु भित्रिएपछि उपमहानगरपालिकाले संख्या नियन्त्रण गर्न गतवर्षदेखि स्टिकर प्रणाली लागू गरेको थियो । २०७६ साल पुस ७ भित्र हेटौंडा उपमहानगरभित्र चल्ने रुट इजाजत प्राप्त अटो र ई–रिक्सालाई मात्र गतवर्ष हरियो स्टिकर वितरण गरिएको थियो । ‘हरियो स्टिकर वितरणपश्चात् संख्या ह्वात्तै घटेको र व्यवस्थापन सहज भएको हेटौंडा उपमहानगरपालिका तीन पाङ्ग्रे स्टिकर व्यवस्थापन समिति संयोजक तथा नगरका प्रवक्ता सविन न्यौपानेले बताए ।

‘अझै केही संख्यामा अनधिकृतरुपमा भित्रिएको सूचना पाएका छौं’, संयोजक न्यौपानेले त्यसको नियन्त्रण र गतवर्ष स्टिकर टाँसिएकालाई नवीकरण गरेर सवारीको हालत दुरुस्त पार्न खोजिएको बताए । उनका अनुसार २०७६ साल पुस ७ भित्र भित्रिएका र पुरानै रुट इजाजत भएकालाई मात्र पहिलो चरणमा चेकजाँच गरी नवीकर गरी पहेँलो स्टिकर वितरण गरिएको छ । सोही मितिमा भित्रिएर प्रतिलिपि रुट इजाजत लिएकाहरुको हकमा दोस्रो चरण र गतवर्ष सबै प्रक्रिया पुगेर पनि विविध कारणले छुटेकाहरुलाई तेस्रो चरणमा स्टिकर वितरण गरिने संयोजक न्यौपानेले बताए ।

नविकरण कार्यक्रम सुरु गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले हेटौंडा बजारलाई तीन पाङ्ग्रे सवारीको संख्या बृद्धिबाट हुनसक्ने समस्या समाधान गर्दै गरिखाने वातावरण सिर्जना गर्न उपमहानगर लागिपरेको बताइन् । उनले मापदण्ड पुगेका तीन पाङ्ग्रेबाहेक अन्यलाई हेटौंडामा चल्न अब पूर्णरुपमा रोकिने बताइन् । ‘अब थप सवारी भिœयाउन नसक्ने अवस्था सिर्जना भइसकेको छ, भएकोलाई व्यवस्थित बनाएर चलाउन उपमहानगर तयार छ’, प्रमुख लामाले अब भाडा समायोजन र रुट व्यवस्थापनमा उपमहानगर लाग्ने बताइन् ।

किर्ते गर्न खोज्ने चालक र साहु पक्राउ

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले तीन पाङ्ग्रे सवारीसाधनको नवीकरण खुलाएसँगै ई–रिक्सा (मयुरी) को च्यासिस नम्बर र नम्बर प्लेट किर्ते गर्ने ७ जना आइतबार पक्राउ परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आइतबार हेटौंडाबाट मयुरीको च्यासिस नम्बर र मयुरीको नम्बर प्लेट किर्ते गर्नेलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मयुरी चालक २ जना, मयुरी धनी (साहु) ३ जना र मयुरीको च्यासिस नम्बर र नम्बर प्लेट परिवर्तन गर्न सहयोग पु¥याउने वर्कसपका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए । प्रहरीले पक्राउ परेका ७ जनाको नाम खुलाएको छैन ।

‘अनुसन्धानमै भएकाले अहिले नै नाम खुलाउन सकिएन । अरु पनि पक्राउ पर्दैछन् । पक्राउ परेकाहरुलाई कुन मुद्दा चलाउने भनेर कानुनी परामर्श भइरहेकाले अहिले नै नाम सार्वजनिक नगरेको हो’, प्रनि आचार्यले भने । मयुरी सञ्चालकहरुले पुरानो र चल्ने अवस्थामा नभएका मयुरीहरुको च्यासिस नम्बर र नम्बर प्लेट नयाँमा परिवर्तन गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले हेटौंडा–४, हुप्रचौरस्थित एक वर्कसपबाट च्यासिस नम्बर परिवर्तन गरिरहेको अवस्थामा मयुरी नियन्त्रणमा लिएको हो ।

हेटौंडा उपमहानगरभित्र सञ्चालन गर्न हरियो स्टिकर अनिवार्य छ । उपमहानगरपालिकाले ७ पुस २०७६ अगाडिका मयुरीलाई मात्र सञ्चालन गर्न अनुमति दिएको थियो । तसर्थ, पुराना मयुरीहरुको च्यासिस नम्बर र नम्बर प्लेट परिवर्तन गरी नयाँमा हालिएको थियो । पक्राउ परेका मयुरी चालक, मयुरी सञ्चालक र वर्कसपका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ । ‘यस विषयमा प्रहरी गहिरो अनुसन्धानमा रहेको छ’, निरीक्षक आचार्यले किर्तेमा संलग्न वर्कसपहरुलाई हदैसम्मको कारबाही गरिने स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published.


*