‘नमूना राष्ट्रसंघीयसभा’को आयोजना गर्दै नवोदय
हेटौंडा-नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्रसंघीयसभाको आयोजना हुने भएको छ । विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले एक वैचारिक कार्यक्रमको आयोजना गर्न लागिएको हो ।आगामी भदौ १४ गतेदेखि १६ गतेसम्म हेटौंडामा नमूना संयुक्त राष्ट्रसंघीयसभाको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
संयुक्त राष्ट्रसंघीयसभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानको बारेमा धारणा राख्ने मौका दिइने जनाइएको छ । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्र्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्ने नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
नमूना राष्ट्रसंघीयसभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्रसंघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दाभिन्दै हुन्छन र तिनै कार्यक्षेत्रका मुख्य पूर्वनिर्धारित समस्यामा वृहतछलफल गरेर कार्यक्रमलाई संचालन गरिने बताइएको छ ।नमूना संयुक्त राष्ट्र संघीयसभामा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सुरक्षापरिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधिसभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाको पूर्वनिर्धारण गरिएको छ ।
कार्यक्रममा हेटौंडा–४ मा रहेको नवोदय शिशुसदनसहित मकवानपुर बालविद्यासदन, कमाने एकेडेमी, चितवनको अर्किड स्कूल, नवलपरासीको गैंडाकोट स्कूल, बुटवलको एपेक्स स्कूलका विद्यार्थीले पनि सहभागिता जनाउनेछन् । क्लव हेटौंडा पार्टी प्यालेसमा हुने नमूना संयुक्त राष्ट्रसंघीयसभामा करिब एक सय ६० जना विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।