उपमहानगरद्वारा २० विद्यालयलाई कम्प्युटर हस्तान्तरण
हेटौंडा,-हेटौंडा उपमहानगरपालिकाले विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन नगर क्षेत्रका २० वटा सामुदायिक विद्यालयलाई आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ ।
विद्यालयको प्रशासनिक कामलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायिक विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो । सहयोग सामग्री हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र सामाजिक विकास समितिका संयोजक तथा १६ नम्बर वडाअध्यक्ष रामकृष्ण कोइरालाले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।
आन्तरिकश्रोतको २० लाख रुपैयाँबाट ठेक्कामार्फत् खरिद गरिएको सामग्री हस्तान्तण गर्दै नगरप्रमुख लामाले विद्यालयको शैक्षिक गतिविधिलाई सुधार्नेतर्फ ध्यान दिन आग्रह गरिन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नेतर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाई थियो । उनले उपमहानगरले दिएको सामग्रीबाट विद्यालयको आन्तरिक व्यवस्थापनको क्षेत्रमा काम गर्न जोड दिएकी छन् । उपमहानगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन गरेको सहयोगबाट समुदायिक विद्यालयका प्रधानाध्यापकहरु पनि उत्साहित भएका छन् । विद्यालयको प्रशासनिक कार्य तथा परीक्षासम्बन्धी कार्य व्यवस्थापनका लागि निकै सहज हुने आकाशधारा पानिसरा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर विकले बताए ।