बर्खामा ग्रामीण विद्यार्थी र विद्यालयको सम्पर्क टुट्दै
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२, धेत्रेदमारको कालाभैरव प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत विकास विकलाई बर्खा लागेपछि पढाई छुट्ने चिन्ता हुन्छ । विद्यालय जान कापी, किताब तयारी अवस्थामा राखेपनि पानी परेपछि विद्यालय जान नसक्दा उनलाई पढाई छुट्ने चिन्ता सधैँ रहन्छ ।बर्खा लागेपछि प्रत्येक वर्ष यहाँका विद्यार्र्थीलाई विद्यालय पुग्न कठिन छ । विकाससँगै पढ्ने साथीहरुको पनि उस्तै चिन्ता छ ।
कक्षा ३ मा अध्ययनरत अजि·रेका बिनिसा जिम्वा र कक्षा २ माअध्ययनरत चुवारपाखाका विकास भ्लोनलाई पनि बर्खा लागेपछि विद्यालय जान र साथीहरु भेट्न नपाउने चिन्ताले पिरोल्ने गरेकोछ । पानी परेपछि कक्षा २ मा अध्ययनरत धेत्रेका विक्रम स्याङतान, कक्षा १ मा अध्ययनरत विवेक स्याङतान र बालविकास कक्षामा अध्ययन गर्ने मुना विक सबैको पढाई छुट्ने गरेको छ ।
भौगोलिक विकटताका कारण मकवानपुरका ग्रामीण क्षेत्रका धेरै विद्यालयमा बालबालिका अध्ययन गर्न आउन सक्दैनन् । पछिल्लो ६ वर्षको अवधिमा ग्रामीण क्षेत्रमा सडक पूर्वाधार प्रशस्त निर्माण भएपनि पुल बन्न नसक्दा बर्खामासमा यातायात संचालन हुन सकेका छैनन् । बाह्रमास सडक संचालन हुनेगरी निर्माण गर्ने भन्दा पनि हिउँदयामलाई मध्यनजर गरेर गरिएका सडकमा बर्षातको समयमा समस्या आउनेगरेको छ । यस्तै समस्याका कारण पानी परेपछि बकैया–१२ का विद्यार्र्थी नियमित अध्ययन गर्न आउन नसकेको विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेले बताए ।
सिमात खोलाको शिरानबाट आएको धेत्रेखोलामा पुल नहुँदा विद्यार्र्थी विद्यालय जानबाट वञ्चित हुनुपरेको हो । पानी परेपछि विद्यालय जान शिक्षक, शिक्षिका, विद्यार्र्थी सबै वारीतर्फ नै रोकिनुपर्ने बाध्यता छ । ‘खोला सानो हुँदा कहिले अभिभावक त कहिले शिक्षकले नै विद्यार्थीलाई तारेर वारीपारी लगिदिनुहुन्छ,’ विद्यालयका प्रअ घलेले भने, ‘बकैया–१२ गोदामडाँडा निवासी कार्यालय सहयोगी कविता लिम्बु बर्खा लागेपछि १० बजेअघि खोलामा पुग्छिन् विद्यार्र्थीलाई बर्खाको खोला तारेर लैजाने दैनिकी बनेको छ । ‘विद्यार्र्थीका अभिभावकले बर्खाको बेला बालबालिका पठाएपछि फोन गर्नुहुन्छ,’ प्रअ घलेले भने । कार्यालय सहयोगी खोलामा पसेर विद्यार्र्थीलाई तारिदिन्छन् । कार्यालय सहयोगी मात्रै होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घिसिङ पनि बर्खा लागेपछि बेलाबेला खोलामा पुग्छन् । धेत्रे खोलामा झोलु·े पुल नहुँदा समस्या छ, ठुलो पानी पर्दा विद्यालय वारिपारी हेरेर बस्ने काम मात्रै हुन्छ, विद्यालयका प्रअ घलेले बाध्यता पोखे ।
विद्यार्र्थीलाई खोला तरेर विद्यालय पुग्दा भिजेकै कपडामा अध्यापन गराउनुपर्ने अवस्था रहेको प्रअ घलेको भनाइ छ । वर्षातमा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्र्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले सुनाए । कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ । स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलु·े पुल नहुँदा विद्यार्र्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलु·े पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको गुनासो छ ।
बकैया–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले वडामा सामान्य बजेट हुने हुँदा वडा तहबाट पुल निर्माण गर्न नसकेको बताए । विभिन्न गैरसरकारी संस्थाले विद्यालय जोड्ने झोलु·े पुल निर्माण गरिदिने प्रतिबद्धता र बचन दिएपनि कसैले पनि कार्यान्वयन नगरेको उनको भनाइ छ । ‘पुल नहुँदा विद्यार्र्थीलाई विद्यालय जान समस्या भएको छ, समस्या समाधान गर्न पालिकासँग पनि समन्वय गरेको हुँ तर, समस्या समाधान गर्न सकिएको छैन’ उनले भने ।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले राडो नेपाल नामक संस्थाले पुल निर्माण गरिदिने प्रतिबद्धता जनाएपनि प्रक्रियागत समस्याले संस्थाले यस आवमा पुल निर्माण गर्न नसक्ने भएको जानकारी दिए । पुल निर्माणका लागि सम्बन्धित ठाउँमा कर्मचारीले पुरानो फाइल पठाइदिँदा पुल निर्माण कार्य प्राथमिकतामा पर्न नसकेको उनको भनाइ छ । पालिकास्तरबाट प्रदेशका सम्बन्धित मन्त्रालयसँग आग्रह गरिएपनि खासै चासो र प्राथमिकता नदिएको उनको गुनासो छ ।
२०७२ सालको भूकम्पले जीर्ण बनेको विद्यालय संरचना चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोग इस्थर बेन्जामिन्स स्मृति संस्थाको व्यवस्थापनमा करिब एक वर्ष पहिले २ कोठे विद्यालय भवन, बालमैत्रीको खानेपानीको धारा तथा शौचालय इस्थर बेन्जामिन्स मेमोरियल नामक संस्थाले निर्माण गरिदिएको थियो । २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको यस विद्यालय २०६१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा रहेको छ ।
विद्यालयमा हाल २३ जना विद्यार्र्थी अध्ययनरत छन् । बकैयाको धेत्रे, चुवारपाखा, गोदामडाँडा, अंजिगरे लगायतका स्थानबाट विद्यार्र्थी करिब ४५ मिनेट पैदलै विद्यालय पुग्छन् । बालविकासदेखि ३ सम्म अध्ययन गरेपछि यहाँका विद्यार्र्थी कान्ति मावि ठिंगन, कालिदेवी आधारभूत विद्यालय र श्री प्रावि कोलखोपमा जाने गर्छन् । तामाङ र दलित समुदायको बाहुल्यता, भौगोलिक विकटता रहेको यस क्षेत्रमा बीचैमा पढाई छाड्ने समस्या पनि उत्तिकै छ ।