मकवानपुरबाट उपाध्यक्षमा क्षेत्री, सदस्यमा श्रेष्ठ र पोख्रेल निर्वाचित

बागमती प्रदेश क्रिकेट संघमा नयाँ नेतृत्व
साझाकुरा
२०८० भाद्र १६, शनिबार १२:४९

हेटौंडा-नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।संघको प्रदेश उपाध्यक्ष र दुई जना सदस्यमा मकवानपुरका पूर्व क्रिकेटरहरु निर्वाचित भएका हुन् । क्रिकेट संघको प्रदेश तहमा निर्वाचनबाट प्राप्त जिम्मेवारीका हिसाबले मकवानपुरको महत्वपूर्ण सफलताको रुपमा लिइएको छ । शुक्रबार काठमाडौंमा भएको प्रदेश क्रिकेट संघको निर्वाचनमा खड्काको नेतृत्वमा पोख्रेलसहितको प्यानल नै विजयी भएको हो ।

खड्का प्यानलबाटै निर्वाचनमा होमिएका मकवानपुरका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित भए । उनी यसअघि पनि संघको प्रदेश उपाध्यक्ष थिए । क्षेत्री मकवानपुर क्रिकेट टिमको प्रतिनिधित्व गर्दै क्षेत्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाएका खेलाडी थिए ।

यसैगरी, संघको सदस्यमा मकवानपुरका पूर्वक्रिकेटर सञ्जोग पोख्रेल निर्वाचित भएका छन् । पोख्रेल, मकवानपुर क्रिकेट टिमका पूर्वक्याप्टेन हुन् । उनले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता खेलिसकेका छन् । मकवानपुरकै धिरज श्रेष्ठ पनि सदस्यमा निर्वाचित भए । क्रिकेट संघ मकवानपुरका कोषाध्यक्षसमेत रहेका श्रेष्ठले जिल्ला टिमको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । प्रदेश संघमा जिल्लाका ३ जनाले निर्वाचन जितेपछि मकवानपुरको क्रिकेटमा सकारात्मक प्रभावको आशा देखिएको मकवानपुरका क्रिकेट एम्पायर विनोद बानियाँले बताए ।

यस्तै, क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारस खड्काको प्यानलले जित हासिल गरेको हो । पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित भए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका हुन् । खड्का नेतृत्व प्यानलका १३ मध्ये १२ जना निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए ।

संघको प्रदेश सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सञ्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएको निर्वाचन कमिटीले जानकारी दिएको छ । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् । अनुजमान श्रेष्ठले १६ मत ल्याएर विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*