बागमतीमा ६ वर्षभित्र ९५ वटा पुल बने

साझाकुरा
२०८० भाद्र १८, सोमबार १५:१०

हेटौंडा-राज्य पुनःसंरचना पश्चात् प्रदेश सरकार स्थापनाको ६ वर्षमा पूर्वाधारतर्फ बागमती प्रदेशमा उल्लेख काम भएको छ । खासगरी सडक पूर्वाधारमा प्रभावकारी काम भएको बताइएको छ ।२०७४ मा गठित प्रदेश सरकारले ६ वर्षको अवधिमा ९५ वटा पक्की पुल निर्माण गरिसकेको छ । जसमध्ये अधिकांश पुल बागमतीका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भएको हो । पौडेलको कार्यकालमा मात्रै ५० वटा भन्दा बढी पुल निर्माण भएको थियो । हरेक वर्ष भौतिक पूर्वाधार क्षेत्रमा धेरै बजेट बिनियोजित गर्ने गरेको बागमती सरकारले सडक निर्माण तथा स्तरोन्नतीमा काम गर्दै आएको छ ।

भौतिक पूर्वाधार विकासको कार्य छिटो छरितो गर्न प्रदेश सरकारअन्तर्गत्का पूर्वाधार कार्यालयहरु जिल्ला–जिल्लामा छन् । एउटा पूर्वाधार कार्यालयले २–२ वटा जिल्ला कार्यक्षेत्र बनाएर काम गर्दै आएका छन् । प्रदेश सरकारले काम सुरु गरेयता भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पक्की पुल, झोलुङ्गे पुल, ढलान सडक, कालोपत्रेसहित सडक स्तरोन्नती, सडकको नयाँ ट्रयाक निर्माण, सडक ग्राभेल, मर्मतसम्भारलगायतका काम हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९÷८० सम्ममा बागमती प्रदेश सरकारले ९५ वटा पक्की पुल निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले गत आर्थिक वर्षमा मात्र २६ वटा पक्की पुल निर्माण भएको जानकारी दिए । त्यसअघि ६९ वटा पुल निर्माण भएको मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्ष प्रदेश सरकारले ६ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । गत आर्थिक वर्षसम्म प्रदेश सरकारले कुल १३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

यसैगरी, गत आर्थिक वर्षसम्ममा पटके मर्मत सम्भारतर्फ धुले सडक एक हजार ५ सय ८४ किमि मर्मत सम्भार गरेको प्रदेश सरकारले आव २०७९÷८० मा मात्र ३ सय २७ किमि धुले सडक मर्मत गरेको छ । गत आर्थिक वर्ष पटके मर्मतसम्भार कार्य पक्की सडकतर्फ १० किमि र ग्राभेल सडकतर्फ ३२ किमि गरिएको थियो । पक्की र ग्राभेल सडकको पटके मर्मतसम्भार गत आर्थिक वर्षदेखि सुरु गरिएको हो ।

गत आर्थिक वर्ष हेरालु मार्फत ३ सय ६४ किमि मर्मतसम्भारको काम भएकोमा गत आर्थिक वर्षसम्ममा कुल एक हजार १७ किमि मर्मतसम्भारको काम भएको प्रवक्ता सिंहले जानकारी दिए । नयाँ सडक निर्माण, स्तरोन्नती र पुनःस्थापनाको काम गर्दै आएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा २ सय ८१ किमिसहित कुल एक हजार ४३ किमि सडकको नयाँ ट्रयाक निर्माण गरेको छ ।

यो अवधिमा ९ सय ३८ किमि सडक ग्राभेल स्तरोन्नति गरिएकोमा गत आवमा मात्रै १ सय ५९ किमि सडक ग्राभेल गरी स्तरोन्नती भएको थियो । प्रवक्ता सिंहले पहिले ट्रयाक निर्माण भएकासहित गत आवमा ६ सय ८० किमि सडक कोलोपत्रेसहित स्तरोन्नति भएको जानकारी दिए । गत आवमा मात्र १ सय ४३ किमि सडक कालोपत्रेसहित स्तरोन्नतिको काम भएको उनले बताए । २ सय ८३ किमि सडक ढलान भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*