सौराहा जेसीजले जित्यो मकवानपुरगढी फुटसल उपाधि

साझाकुरा
२०८० भाद्र १८, सोमबार १५:२६

हेटौंडा- मकवानपुरगढी जेसीज कप फुटसल प्रतियोगिताको उपाधि सौराहा जेसीजले जितेको छ । फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले पराजित गर्दै सौराहाले उपाधि उचालेको हो । सौराहाको जितमा दुई खेलाडीले ह्याट्रिक गरे । सौराहाका लागि असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरेका थिए । आयोजकको तर्फबाट विवश थिङले २ गोल मात्रै फर्काए ।

सौराहाले पालुङ जेसीजलाई र मकवानपुरगढीले बीरगञ्ज जेसीजलाई हराउँदै उपाधि होडमा पुगेको थियो । सौराहा जेसीजले उपाधिसँगै नगद १ लाख रुपैयाँ पनि हात पा¥यो । उपविजेता भएको आयोजक शाखाले भने ५० हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्टको पुरस्कार विजेता सौराहाका खेलाडीले प्राप्त गरे ।

उत्कृष्ट खेलाडी असिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको विजेता तथा सर्वोत्कृष्ट खेलाडीलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामास्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपालीपाख्रिन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । गाउँपालिका अध्यक्ष स्याङ्तानले यस प्रतियोगिताले गाउँपालिकाको आन्तरिक पर्यटन प्रबद्र्धनसहित खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी वर्षहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।

मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले जेसीज शाखाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धनका निम्ति प्रतियोगिता आयोजना गरिएको बताए । यस्तै, कार्यक्रम संयोजक विजय पुडासैनीले प्रतियोगितालाई सम्पन्न गर्नको लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनका पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । फुटसल खेल रातको समयमा पनि खेलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*