थाहाका शिक्षकलाई योग तथा साधना शिविर
हेटौंडा-थाहा नगरपालिकाका शिक्षकका लागि योग, ध्यान र साधना तालिम १८ भदौबाट सुरु भएको छ । सात दिनसम्म सञ्चालन हुने तालिम सोमबार विहान ६ बजेबाट जेसीज सभाहलमा सुरु भएको हो ।थाहा नगरपालिकाका विद्यालयमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १, २, ३, ४, ७ र ८ का सार्वजनिक विद्यालयका शिक्षकको सहभागितामा तालिम सुरु गरिएको थाहा नगरपालिका शिक्षा शाखाप्रमुख माधवविक्रम मल्लले जानकारी दिए ।
पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी २९ जनाको सहभागिता रहेको छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विद्यालयमा नियमित रुपमा विद्यार्र्थीलाई योग, ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो ।
शिक्षकलाई तालिम दिएर उनीहरुमार्फत विद्यार्र्थीलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । विद्यार्र्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाई मानवमूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए । तालिमका सहाभागीलाई योगगुरु राजन बिडारीले प्रशिक्षण दिइरहेका छन् । तालिमको संयोजन सुनौलो सामुदायिक सिकाइ केन्द्रले गरिरहेको छ ।