हेटौंडाबाट सत्तारुढ कांग्रेस युवाले मागे गृहमन्त्रीको राजीनामा

साझाकुरा
२०८० भाद्र २२, शुक्रबार १२:१८

हेटौंडा-हेटौंडामा बिहीवार सत्ता राजनीतिमा बिरलै देखिने विरोध प्रदर्शन भएको छ । राजनीतिमा सरकारमै रहेका मन्त्रीहरुको सत्तारुढ दलकै भातृ संगठन वा नेताहरुले राजीनामा मागेको बिरदै देख्न÷सुन्न पाइन्छ ।तर, हेटौंडामा बिहीवार साँझ सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसनिकट तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । तरुण दल मकवानपुरले गृहमन्त्री श्रेष्ठको राजीनामा मात्रै मागेन, मसाल जुलुससहित प्रदर्शनसमेत गरेको छ । नेपाल तरुण दलले हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

तरुण दलका युवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानवीनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरेका हुन् । यसअघि तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले गृहमन्त्रीको राजीनामा मागेका थिए । तर, तरुण दलले भने मसाल जुलुस नै निकालेर राजीनामा दिनुपर्ने जनाएको हो । बुधवार काठमाडौंस्थित रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएर बाहिर आउने क्रममा कांग्रेसका सहमहामन्त्री यादवको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको थियो ।

‘हाम्रो पार्टीका नेता यादवलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । ‘खुकुरी प्रहार गर्नेले गृहमन्त्रीको आदेश भनिरहेका छन् । घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग हामी गर्दछौं ।’, तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले भने, ‘यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडि बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरी दोषीउपर कडाभन्दा कडा कारवाहीको माग गर्दछौं ।’, भेटवालले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप लगाउँदै तरुण दल अब हातमा ‘दही’ जमाएर नबस्ने र सडक संघर्ष गर्ने चेतावनी दिए ।

कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठले पछिल्लो समय कांग्रेसमाथि लगातार प्रहार भइरहेको भन्दै तरुण र विद्यार्थी अब मौन बस्न नहुने बताए । आन्दोलनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को पनि सहभागिता रहेको थियोे । नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी तथा उमेशलाल स्याङ्तानले पनि गृहमन्त्रीको राजीनामा दिनुपर्नेमा जोड दिए ।नेतामाथिको आक्रमणविरुद्ध सांसदहरुको आवाजमकवानपुरका प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलासहितका सांसदहरुले राजनीतिक नेताहरुमाथि योजनाबद्ध रुपमा भइरहेको संघातिक आक्रमणको विरोध जनाएका छन् ।

काठमाडौंमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार र कोशी प्रदेशमा जातीय पहिचानलाई लिएर आन्दोलितहरुले एमाले अध्यक्ष केपी शर्माओली र एमालेकै अन्य नेताहरुमाथि भइरहेको आक्रमणविरुद्ध सांसदहरुले सदनमा आवाज उठाएका हुन् । राजनीतिक व्यवस्थामाथि प्रहार गर्नका लागि नुवाकोटका श्यामबहादुर सापकोटालाई प्रयोग गरेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधर राजनीतिक दलहरुमाथि प्रहार गरिएको आरोप लगाइएको छ । यो व्यवस्थामाथि नै प्रहार गर्नका लागि नेतामाथि खुकुरी प्रहार गर्न लगाइएको भन्दै यो घटनाको पछाडि को रहेको छ ? भन्नेबारे छानवीन गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ कांग्रेस, माओवादीसँगै प्रमुख प्रतिपक्ष एमालेका सांसदहरुले काठमाडौंमा बुधबार कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको एकस्वरले विरोध गरेका हुन् । उनीहरुले घटनाको सत्य–तथ्य छानवीन गर्नुपर्ने र घटनाको पछाडि कसको संलग्नता रहेको छ भन्ने छानवीन गरी संसद्लाई जानकारी गराउनुपर्ने माग गरे । संविधानसभा सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री यादवमाथि भएको खुकुरी प्रहारको घटनालाई गम्भीररुपमा लिन
सरकारसँग माग गरिएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरुका बारेमा भ्रम फैलाएर उनीहरुमाथि आक्रमण गर्नुपर्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । ‘खुकुरी प्रहार गरेर कांग्रेस, एमाले, माओवादी लगायतका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर राजनीतिक दलहरु पुराना हुन, खराब छन् यिनीहरुले यो मुलुकलाई निकास दिन सक्दैनन् भन्ने कृत्रिम भाष्य तयार गरेर लोकतन्त्र समाप्त गर्ने यदि कसैको चाहना छ भने त्यो दिवास्वप्न हुनेछ ।’, लेखकले भने ।

सत्तापक्षका केन्द्रीय सहमहामन्त्रीमाथि भएको घटनाबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले माग गरे । नेता छानीछानी आक्रमण गर्ने र त्यसलाई प्रोत्साहन हुने गरी सामाजिक संजालमा कमेन्ट आउनु सही नभएको बताए । ‘यो हमलाप्रति एमालेको संसदीय दलको तर्फबाट भत्र्सना गर्न चाहन्छु । यसको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ । सरकारले गम्भीरताका साथ सदनमा आएर जवाफ दिनुपर्छ’, उनले भने । विगतमा प्रतिपक्षका नेताहरुमाथि आक्रमण गरिएको र त्यसमा सरकारले ध्यान कम दिएको पनि उनको भनाइ थियो । यादवमाथि भएको घटनाको निर्ममताका साथ छानवीन गरी कारबाही गर्न उनले माग गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पनि यो घटनाको छानवीन गर्नुपर्ने माग गरे । यस्ता अराजक कार्यलाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सामाजिक सञ्जालमा प्रचार गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकताबद्ध भएर अघि बढनुपर्ने उनको आग्रह थियो । सांसदहरुले अराजकता भनेको प्रति राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने आपत्ति जनाए । राप्रपा नेता धवलशमशेर जबराले भने यो घटनाको विषयलाई लिएर आफ्नो पार्टीलाई आक्षेप लगाइएकोप्रति आपत्ति जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*