मकवानपुरमा आज न्वागी पर्व र भीमसेन जात्रा मनाईंदै

साझाकुरा
२०८० भाद्र २२, शुक्रबार १२:२६

हेटौंडा मकवानपुरमा आज शुक्रबार दुई ठूला धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना हुँदैछन् । चेपाङ समुदायले महान पर्वको रुपमा मनाउँदै आएको न्वागी पर्व र भीमफेदीमा भीमसेन जात्रा हुँदैछ ।चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रुपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।

आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले आज शुक्रबार सार्जनिक बिदा दिएको छ । बागमती प्रदेशको ३ जिल्ला मकवानपुर, चितवन र धादिङमा मात्रै लागु हुने गरी दोस्रोपटक प्रदेश सरकारले बिदा दिएको हो । अघिल्लो वर्ष पनि प्रदेश सरकारले न्वागी पर्वमा बिदा दिएको थियो । बिदा पाएको प्रति चेपाङ संघले खुसी ब्यक्त गरेको छ ।

नेपालका ७७ जिल्लामध्ये मकवानपुर, चितवन, धादिङ र गोर्खामा चेपाङ समुदायको बसोबास बढी छ । विगतमा जस्तै यस वर्षपनि मकवानपुरमा सामूहिक रुपमा न्वाँगी पर्व मनाउँदै छन् चेपाङ समुदाय । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् । प्रकृतिपूजक चेपाङले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएकोले सामूहिक रुपमा पर्व मनाउँदै महत्वका विषयमा चर्चा गर्ने गरिएको छ ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न तथा फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । सामूहिक रुपमा भोजन गरेर, रातभर रमाइलो गरेर जाग्राम बस्ने गरिन्छ । लोपोन्मुख चेपाङ जातिले भीरपाखाबाट कन्दमुल र फलफूलहरु संकलन गरेर छाक टार्ने गरेको भएपनि यस दिन मिठो खाने र रमाउने गरेको प्रदेश साँसद सन्त चेपाङले बताए ।

चेपाङहरुले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको साँसद चेपाङले बताए । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा ‘छोनाम’ भन्छन् भने खस नेपाली भाषामा न्वाँगी भनिन्छ । बागमती प्रदेशमा ६३ हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । चेपाङ समुदायलाई संघीय सरकारले लोपोन्मुख प्रजातिको रुपमा सूचिकृत गरी सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ । आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे्र) द्वारा पितृपूजा रातभरि विहीबार बारना’ गरेर चाड समापन गनिने परम्परा छ ।

भीमसेन जात्रा मनाईंदै

पौराणिक ऐतिहासिक भीमफेदीमा भीमसेन जात्रा आज शुक्रबार मनाईंदैछ । विशेषगरि भीमफेदी गाउँपालिकामा पालिका केन्द्र भीमफेदी बजार र भैसे बजारमा गाईजात्रा तथा कृष्णजात्रा भव्य रुपमा मनाउने गरिएकको हो । भीमफेदीको नामाकरणको इतिहाससँग गाँसिएको भीमसेन मन्दिर पहिले चिसापानीगढी मुनि फेदी, पारी वजारमा थियो । वि.स. २०११ सालको वाढीले वगाई अलि तल ल्याई पुरिएको अवस्थामा फेला परेपछि मूर्तिलाई खनेर निकाल्न खोज्दा जति गहिरो खन्यो उति नै तल जाने भै निकाल्न नसकी त्यही खनिएको गहिराई वरीपरि सिंढी र पर्खाल बनाई मूर्ति भएको ठाउँमा मन्दिर बनाई राखिएको छ । यो ठाउँमा पछि चल्तीमा आएको बजारमा नयाँ मन्दिर बनाई मूर्तिको प्रतिस्थापना गरी जात्रा संचालन गरिदै आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*