हेटौंडामा आज प्रधानमन्त्री प्रचण्डदेखि मोर्चाका शीर्ष नेता आउँदै

साझाकुरा
२०८० भाद्र २४, आईतवार १०:०९

हेटौंडा- हेटौंडामा लामो समयपछि राज्यका शीर्ष नेतृत्व तहका नेताहरु एकसाथ देखिँदैछन् । आज आइतबार यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका आधा दर्जन शीर्ष नेताहरु एकसाथ उपस्थित हुने भएका छन् ।प्रचण्ड, नेपाललगायतका नेताहरु आज समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय समिति घोषणा गर्न आउन लागेका हुन् ।

घोषणासभालाई प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

जिल्लास्थित मोर्चामा आवद्ध राजनीतिक दलहरुले आज हुने मोर्चाको सन्देशसभा र घोषणासभाको तयारी पूरा भएको जानकारी दिएका हुन् ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपासहितको मोर्चाको बागमतीको नेतृत्व कसले पाउने भन्ने विषयमा अहिले केही खुलाइएको छैन । कार्यक्रममा मोर्चामा आवद्ध राजनीतिक दलका कार्यकर्ताहरुलाई मोर्चाको अवधारणाबारे प्रशिक्षण दिइने नेकपा (एकीकृत समाजवादी) पार्टीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।

उनले मोर्चा आवद्ध दलहरुले साझा अवधारणा लिएर मुलुकको सर्वोपरी हितका लागि अघि बढेको बताउँदै सैद्दान्तिक र बैचारिक एकता भएको खण्डमा भविष्यमा बाम एकता हुने उल्लेख गरिन् । मोर्चाले सातै प्रदेशमा सन्देशसभा गरिरहेको छ । बागमतीसँगै कोशी र सुदूरपश्चिम प्रदेशको भेला हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*