प्रधानमन्त्री प्रचण्ड, माधव र विप्लवबीच ‘फाटेको मन सिलाउने प्रयास’

हेटौंडामा समाजवादी मोर्चाको सन्देशसभा
साझाकुरा
२०८० भाद्र २५, सोमबार १२:१३

हेटौंडा- हेटौंडामा आतइतबार समाजवादी मोर्चाको सन्देशसभा भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र जसपाको समाजवादी मोर्चाको उद्देश्य र औचित्यबारे जानकारी दिन सन्देशसभा राखिएको थियो ।सन्देशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधव नेपाल र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायतका नेता मञ्चमा थिए ।

समाजवादी मोर्चाको सन्देश प्रवाह गर्न शीर्ष नेतृत्वले कति सके वा सकेनन् त्यो नेता कार्यकर्ताले प्रष्ट्याउलान तर, नेताहरुबीच ‘फाटेको मन सिलाउने प्रयास’ भने रोचक थियो । प्रचण्ड, माधव र विप्लवले एकअर्काबीच प्रशंसा गर्दै विगतमा फाटेको मन जोड्न खोजिरहेको सन्देश भने छर्लङ्गै सुनियो ।

तत्कालीन माओवादी केन्द्रकै एक खम्बा विप्लव अलग्गिएर नयाँ पार्टी स्थापनासँगै भूमिगत भएका थिए । भूमिगत राजनीतिक गतिविधि गरिरहँदा विप्लव प्रचण्डका कट्टर आलोचकमध्ये एक थिए । प्रचण्डकै कारण माओवादीले बाटो बिराएको टिप्पणी गर्ने विप्लवले आइतबार हेटौंडामा प्रचण्डको खुलेरै प्रशंसा गरे । विप्लव अगाडि पनि प्रधानमन्त्री प्रचण्ड प्रशंसा गर्न कमजोर देखिएनन् । कांग्रेस र नेकपा एससहितको तत्कालीन गठबन्धनबाट फुत्त निस्किएर प्रचण्ड एमाले अध्यक्ष केपी शर्माओलीसँग निजिकिँदा र चालू आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउँदा उनै प्रचण्डसँग आगो बनेका माधव नेपालको सारथी बन्न उनी पछाडि परेनन् ।

शीर्ष नेताहरुले एकअर्काको प्रशंसा मात्रै गरेनन्, एमाले अध्यक्ष ओलीको आलोचना पनि गर्न भ्याए । समाजवादी मोर्चाको औचित्य र यसको भविष्यबारे बताउन हेटौंडा ओर्लिएका देशका शीर्ष नेता नै अर्का नेताको आलोचनामा रुमलिँदा बौद्धिक कार्यकर्ताले भने नाक खुम्च्याएका थिए । कार्यक्रम सभाहलमा भेटिएका एक कार्यकर्ताले गुनासो पोखे ‘यहाँ आफ्नो धारणा राख्न आउनुभएको थियो । अरुको आलोचना गरेर नेता, कार्यकर्तालाई के सिकाउन खोजिएको होला । हाम्रा नेताहरुको रोग कहिल्यै नजाने भयो ।’,

प्रधानमन्त्री प्रचण्डले सम्बोधनको सुरुवातमा व्यवस्था परिवर्तनको लागि जनताले गरेको बलिदानको सम्मान गर्न नसक्दा प्रतिक्रियावादी तत्वहरुले आफू विरुद्ध मुद्दा दायर गरेको बताए । यो वाक्यलगत्तै उनले मोर्चाका सहयात्री दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानमा अध्यक्ष नेपालबाट पाएको समर्थनको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । गणतन्त्र स्थापनको आधार स्मरण गर्दै माओवादी आन्दोलनको सहयात्री विप्लवको प्रशंसा गरेका थिए । जनयुद्धको पछिल्लो समय सबैभन्दा नजिक रहेर काम गरेको र सरकारलाई सुशासनको काममा अघि बढ्न हौसला प्रदान गर्ने काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले विप्लवको प्रशंसा गरे ।

‘विप्लवले सरकारलाई सुशासनका काममा बलियो साथ दिनुभएको छ । सरकारको काममा तपाई अघि बढउनुस् सडकबाट हामी साथ दिन्छौ भन्नु भएको छ । म त्यसको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु।’, विप्लवको प्रशंसा गर्दै प्रचण्ड सुनिए । विप्लवको नेतृत्वमा भएको एकीकृत जनक्रान्तिको प्रयोगलाई सबैको साझा सम्पत्तिको रुपमा स्वीकार गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले पुनः विप्लवको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले नेपालमा गणतन्त्र स्थापनमा अध्यक्ष नेपालको महत्वपूर्ण भूमिका रहेको बताए । सोही क्रममा उनले एमाले अध्यक्ष ओलीले पार्टीको नेतृत्व लिएको भए गणतन्त्र स्थापना हुन नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

ओली एमालेको तत्कालीन महासचिव वा प्रमुख भएको भए जनयुद्ध, जनआन्दोलनको संयोजनबाट जनक्रान्ति नहुने उनले बताए । ‘तत्कालीन अवस्थामा माधवको ठाउँमा ओली महासचिव भएको भए व्यवस्था परिवर्तन हुने थिएन । म अहिले स्मरण गर्न चाहन्छु । ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन । त्यति बेला माओवादीले संघीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध ग¥यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो,’ उनले भने ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले आफ्नो सुशानसनको अभियानबाट प्रतिगामी तर्सिएको दाबी गरे । उनले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह समेत
गरेका छन् । उनले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे । पूर्वप्रधामन्त्री माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नयाँ उपलब्धी र नेपाली जनताको चाहनाबाट गठन भएको दाबी गरे । उपलब्धीलाई
रक्षा गर्न यसको आवश्यकता रहेको बताउँदै उनले साम्रज्यवादसँग लड्नको लागि नयाँ परिस्थितिको उपजका निम्ति मोर्चा घोषणा आवश्यकता रहेको बताए । सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारे । उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*