हेटौंडा आएर शेखरले भने– ‘कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ’

साझाकुरा
२०८० भाद्र २५, सोमबार १२:१६

हेटौंडा- नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापन गरेर अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकार असफल भएको सन्देश प्रवाह गर्दै आइरहेका कोइरालाले आइतबार हेटौंडामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै सरकार परिवर्तनको विषय उठाएका हुन् । उनले वर्तमान प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् । कोइरालाले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने संकेत गरिरहँदा प्रचण्ड पनि हेटौंडामै थिए । तर, कोइराला र प्रचण्ड फरक–फरक कार्यक्रममा सहभागी हुन यहाँ आएका थिए ।

कोइराला ११० औं बीपी जयन्तीको सन्दर्भमा हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका थिए । प्रचण्ड पनि आइतकार हेटौंडामा आयोजित बागमती प्रदेशस्तरीय समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न यहाँ आएका हुन् । प्रचण्डले सरकार सञ्चालनमा दबाब सिर्जना भइरहेको बताइरहँदा कोइरालाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि सार्वजनिक रुपमै बोलेका थिए ।

नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे । उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाए । ‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ ।’, वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालका सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने बताए । ‘हामी देशकै ठूलो दल हौं । हाम्रो ९० सिट छ । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं ।’, उनले भने ।
हालकै अवस्थामा सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने कोइरालाको दाबी थियो । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए । प्रधानमन्त्रीकै कारण धरान घटना भएको उनको टिप्पणी थियो । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुईलाख जना मानिस सडकमा उतार्छौं भन्नुभयो’, कोइरालाले सुनाए ।

‘देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहो¥याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो ।’, उनले भने । पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्य रुपमा बुझ्नसमेत कार्यकर्तालाई कोइरालाले आग्रह गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएको र पार्टीभित्र असन्तुष्टि हुने भन्दै हरेक पार्टीभित्र समस्या आउने र यसलाई चिर्दै अगाडि बढ्नुपर्ने उनको भनाई थियो । नेपाली कांग्रेस नफुट्ने सुनाउँदै देशको अखण्डता र सार्वभौमसत्तालाई जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*