सिंहले भने, ‘नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाउनु हुँदैन’

साझाकुरा
२०८० भाद्र २६, मंगलवार ०९:५८

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित राप्रपाका सांसद तथा संसदको पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुंगा उत्खनन कार्य खोल्न आवश्यक रहेको बताएका छन् ।‘खोला, नदीका गिट्टी, ढुंगाहरु समयमा नै उत्खनन गर्न सकेनौँ भने बालुवाको रुपमा भारत पुग्छ । त्यहाँबाट हामीले केही पाउँदैनौँ ।’, सिंहले भने, ‘न त व्यवसाय गर्ने व्यवसायीहरुले रोजगारी दिन सक्नुहुन्छ ।’, सोमबार काठमाडौंमा आयोजित नदी र खानीजन्यपदार्थको उत्खननमा देखिएका कानुनी समस्या समाधान विषयक राउण्डटेबल कार्यक्रममा सिंहले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी, बालुवा र ढुंगा उत्खनन रोक्न नहुने बताए ।

‘क्रसर उद्योगमा लागेर हजारौँ नागरिकहरुले रोजगारी पाएका छन । क्रसर उद्योग बन्द भए ती सबै मानिसहरु विदेश जानुपर्ने अवस्था आउँछ । त्यहाँबाट राज्यले राजश्व पनि गुमाउँछ ।’, सिंहले भने, ‘खोला, नदी र चुरे संरक्षण गरेर खोलाको गिट्टी बालुवा उत्खनन् गर्न सक्यो भने रोजगारी र पैसा त्यहीँ छ ।’,नदी र खोलाको गिट्टी, बालुवा उत्खनन गर्न नदिएर क्रसर उद्योग बन्द गरे हजारौँ मानिसहरु विदेशिनुपर्ने अवस्था आउनेमा सरकार सचेत हुनुपर्ने सिंहको भनाइ छ । ‘अर्ब रुपैयाँ खोलाको गिट्टी बालुवाबाट आउँछ भने ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्न आवश्यक छ । यसरी काम गर्नसक्यो भने प्रत्येक वर्ष अर्बौं रुपैयाँ आर्जन गर्नसक्छौँ । हजारौँ युवाहरुलाई मुलुकमा नै रोजगारी दिन सक्छौँ ।’, उनले भने ।

क्रसरको ठेक्का लिन मेयर उपमेयरहरु नै अग्रसर रहेको भन्दै सिंहले यस्तो कार्य रोक्न आवश्यक रहेको बताए ।‘क्रसरको ठेक्का लिन मेयर उपमेयरहरुले सिकिसकेका छन् । यस्तो ठेक्का रोक्नुपर्छ । संसदको समितिहरुमा विगतमा के भयो मतलव छैन । मेरो कार्यकालमा कुनै पनि बैमानी गर्दिनँ ।’, उनले भने, ‘व्यवसायीहरुसँग चुनावी खर्च पनि माग गर्दैनौँ । चार वर्ष काम गर्न नसके व्यवसाय मात्रै नभएर देश सकिन सक्छ ।’, सरकारका सचिवहरु, मुख्य सचिवहरु, योजना आयोगका उपाध्यक्षहरु रिटायर्ड भएर विदेशी कम्पनीमा काम गर्न नपाउने व्यवस्था गर्ने उनले बताए । उनीहरुलाई रिटायर्डको पाँच वर्षपछि त्यस्ता कम्पनीमा जागिर खान पाउने व्यवस्था गरेमात्रै मुलुकलाई ट्रयाकमा ल्याउन सकिने र नत्र पशुपतिनाथले पनि थेग्नसक्ने अवस्था नदेखिएको सिंहको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*