हेटौंडामा तालिम केन्द्रको लक्ष्यभन्दा बढीले सिके सीप

हेटौंडा- हेटौंडास्थित प्रदेश सरकारअन्तर्गत्को व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले वार्षिक लक्ष्यभन्दा बढीलाई सीप सिकाएको छ । हरेक सरकारी कार्यालयले वार्षिक लक्ष्य र प्रगतिको लेखाजोखा गर्ने गर्दछन् । लेखाजोखा गर्ने क्रममै सीप विकास तालिम केन्द्र हेटौंडाले ९ सय ९५ जनालाई एक वर्षभित्र सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० को असारमसान्तभित्रको प्रगति विवरणअनुसार १ हजार ११ जना दक्ष जनशक्तिका रुपमा उत्पादन गरेको पाइएको छ । मुलुकभित्र दक्ष जनशक्तिको अभाव भइरहेको अवस्थामा सीप विकास तालिम केन्द्रले सीप सिकाएर जनशक्ति उत्पादन गरिरहेको केन्द्र प्रमुख देवराज चौलागाई बताउँछन् ।
चौलागाईले आफ्नो कार्यकालभित्र लक्ष्य भन्दा बढीलाई सीप सिकाउन सफल भएका हुन् । कतिपय सरकारी कार्यालयले आफ्नो लक्ष्यसमेत भेट्न नसकेको अवस्थामा सीप विकास केन्द्रले सबैभन्दा धेरै वैदेशिक एवम् युवा स्वरोजगारमुलक तालिमबाट ३ सय जनालाई सीप सिकाउने लक्ष्य लिइको थियो । १५ दिनदेखि ३ महिनासम्म हुने उद्यमशीलता÷रोजगारीमूलक÷ सशक्तिकरण÷सीप विकास तथा क्षमता अभिवृद्धि तालिम ३ सय १० जनालाई प्रदान गरिएको प्रमुख चौलागाईले जानकारी दिए । ३ सय १० जनाले बोमौसमी तरकारी खेती, कृषिजन्यपदार्थ प्रशोधन, सुरक्षा गार्ड, कफी मेकर, कुक, नर्सरी व्यवस्थापन र केश श्रृंगार तथा सौन्दर्यको सीप सिकेका थिए ।
केन्द्रले गत आवमा ६ महिने (७३० कार्यघण्टा) नियमित तालिमहरु जनरल मेकानिक्स, कम्प्युटर सफ्टवेयर र आवासीय महिला सीप विकासबाट क्रमशः २०, ६० र ३६ जनालाई सीप सिकाएको छ । ३९० कार्यघण्टाको ३ महिने नियमित तालिमअन्तर्गत् केन्द्रले केशश्रृंगार तथा सौन्दर्यबाट ७९ जना, इलेक्ट्रोनिक्स मर्मतबाट ३० जना, सिलाई कटाईबाट ५३ जना, प्लम्बिङबाट ३६ जना, बेतबाँस हस्तकलाबाट ४० जना विद्युत जडानबाट ४० जना, केश श्रृंगार तथा सौन्दर्य अभिवृद्धिमा ३१ जना, सिलाई कटाई अभिवृद्धिमा २६ जनालाई सीप सिकाइएको केन्द्र प्रमुख चौलागाईले बताए ।
यसैगरी, केन्द्रले ३९० कार्यघण्टाको गलैंचा बुनाई र हाकु पटासीको परम्परागत सीप अभिवृद्धि तालिम (उद्यमशीलता÷रोजगारी मूलक÷सशक्तिकरण÷सीप विकास तथा क्षमता अभिवृद्धि तालिम) ३० जनालाई दिने लक्ष्य लिइएकोमा ३४ जनालाई प्रदान गरिएको छ । २० जना महिलालाई ढाका बुनाई तालिम, वैदेशिक रोजगारीबाट फर्किएका २ जनासँग क्षमता अभिवृद्धि बारे छलफल, ६२ जना अपाङ्गता भएका महिला श्रमिक, लैंगिक हिंसापीडित, विपन्न दलित, सीमान्तकृत, एकल महिलाका लागि सीप विकास तथा क्षमता अभिवृद्धि तालिमतर्फ केन्द्रले १० दिने कफी मेकर र क्रिष्टलको सामान बनाउने सीप सिकाएको चौलागाईं बताउँछन् ।
५१ जना लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको लागि अचार बनाउने सीपमूलक तालिम, तालिम प्राप्त प्रशिक्षार्थीहरुबाट १ जनासँग रोजगार, स्वरोगगार वैदेशिक रोजगार र उद्यमशीलता विकाससम्बन्धी पोष्ट रिभ्यू गरिएको केन्द्रले जनाएको छ । ५० जना अल्पसंख्यक, सीमान्तकृत र अतिविपन्न समुदायको लागि बारिष्टा (कफी मेकर) तालिम दिनुका साथै ३० जना जनयुद्धका शहिद परिवारको लागि कुक र बेकरीतर्फ सीप विकास तालिम प्रदान गरिएको केन्द्रका प्रमुख चौलागाईले जानकारी दिएका छन् । केन्द्रको वार्षिक लक्ष्यअनुसार नियमित तालिम प्राप्त प्रशिक्षार्थीहरुको सीप परीक्षण २ जनाको गर्नुपर्नेमा सीप परीक्षण भने नभएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, वार्षिक लक्ष्यको तुलनामा केन्द्रले भौतिक प्रगति १ सय १ प्रतिशत रहेको जनाएको छ । केन्द्रका लागि गत आव ०७९÷८० मा ५ करोड ७८ लाख ९१ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा चालूतर्फ मात्रै ५ करोड ५६ लाख ९१ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । चालू खर्च ५ करोड ३ लाख ४५ हजार रहेको प्रमुख चौलागाईले जानकारी दिए । केन्द्रमा पुँजीगततर्फ २२ लाख बजेट बिनियोजन भएकोमा २१ लाख ६५ हजार ६ सय ८४ रुपैयाँ खर्च भएको प्रगति विवरणमा उल्लेख छ । केन्द्रले गत आवमा चालू र पुँजीगततर्फ गरेर कूल ९० दशमलव ७ प्रतिशत खर्च गर्न सफल भएको हो ।
यसैगरी, केन्द्रले चालू आव २०८०÷८१ मा व्यवसायिक तथा सीप विकास तालिम निर्देशिका निर्माण गर्नुपर्ने र तालिम पाठ्यक्रमहरु अपडेट गर्नुपर्ने बारे प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।व्यवसायिक सीपमूलक तालिम सञ्चालन गर्नेबारे छुट्टै ऐन, नियम नभएको र हाल २०६९ सालमा निर्माण गरिएको तालिम सञ्चालन निर्देशिकाबाटै काम गरिरहेकाले नयाँ निर्देशिका बनाउनुपर्ने आवश्यकता रहेको केन्द्रप्रमुख चौलागाई बताउँछन् । उनले सीप सिक्न चाहनेको संख्या अधिकरहेको र सोही अनुसार केन्द्रको श्रोतसाधान, भौतिक पूर्वाधार र क्षमता वृद्धि हुन नसकेको बताए ।
तालिमको दोहोरोपनाले पनि समस्या बनाइरहेको उनको भनाई छ । प्रमुख चौलागाईले देशको श्रमबजारमा विषयगत प्राविधिक जनशक्ति के–कति आवश्यकता पर्छ त्यसको आवधिक रुपमा प्रक्षेपण हुन नसक्नु, आर्थिक रुपमा विपन्नलाई तालिमपश्चात स्वरोजगार व्यवसाय÷ साना उद्यम सञ्चालन गर्न थप सहयोगको व्यवस्था नहुनु वर्तमान समस्याको रुपमा देखापरेको बताए । उनले केन्द्रमा तालिमको व्यवस्थापन, अनुगमन र निरीक्षण कार्यका लागि चार पाङग्रे सवारीसाधन आवश्यक रहेको औंल्याए । तालिमकेन्द्रको मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेका छन् ।