सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट

साझाकुरा
२०८० भाद्र २८, बिहीबार ०८:३०

हेटौंडा- हेटौंडा–१, स्थित सञ्चो हस्पिटल प्रालिका चिकित्सकमाथि एक समूहले निर्घात कुटपिट गरेको छ । केही समयअघि चितवनमा मृत्यु भएको एक बिरामीको पक्षमा आएको समूहले अस्पतालभित्रै रहेका डाक्टरमाथि कुटपिट गरेका हुन् ।डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै चिकित्सकमाथि कुटपिट भएको हो । सार्वजनिक सिसिटिभी फुजेटअनुसार एक महिलाले चिकित्सकलाई कुटपिट गर्न सुरु गर्छिन् । समूहमै रहेका एक पुरुषले अर्का चिकित्सकलाई पनि लछार्दै कुटपिट गरेको देखिन्छ । सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. प्रशान्त विडारी र सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि केही युवाहरुले हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट डा. विडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा. थापाको गाला र अनुहार सुनिएको छ । एक महिनाअघि डेंगुका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ । उपचारमा लापरबाही गरेको भन्दै एक महिनापछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन् । प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो । त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो ।

सञ्चोमा उपचार हुन नसक्ने भन्दै प्रधानलाई चितवन लगिएको थियो । प्रधानलाई दोस्रोपटक डेंगु संक्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो । सोही घटनालाई लिएर प्रधानका आफन्तले चिकित्सकद्वयमाथि कुटपिट गरेका थिए । घटनापश्चात प्रहरीले दुवैपक्षलाई राखी छलफल गराएको थियो । तर, छलफलमा सहमति जुटन नसकेपछि दुवै पक्ष कानुनी प्रक्रिया जाने भएका छन् । प्रवक्ता भण्डारीका अनुसार डा. विडारी र डा. थापाले जाहेरी दिएपछि थप कानुनी प्रक्रिया अघि बढाइने भएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघले यो घटनाको निन्दा गर्दै बिज्ञप्ती जारी गरेको छ । संघका जिल्ला उपाध्यक्ष सुधीर दाहालले जारी गरेको बिज्ञप्तीमा चिकित्सक माथि उत्छृङ्खल जमातले गरेको सांघातिक आक्रमणको संघ घोर भत्सर्ना गर्दछ । यस किसिमको गतिबिधिले स्वास्थ्य क्षेत्रमा गंभीर असर पु¥याउने भएकोले स्वास्थ्य क्षेत्रको संबेदनशीलतालाई मध्य नजर गर्दै दोषीमामाथि हदैसम्मको कारबाही गर्न बिज्ञप्तीमा माग गरिएको छ । यसैगरी नेपाल औषधि ब्यवसायी संघ मकवानपुरले पनि यो घटनाको घोर आपत्ती जनाउँदै बिज्ञप्ती जारी गरेको छ । संघका उपाध्यक्ष संघर्ष गुरुङले जारी गरेको बिज्ञप्तीमा स्वास्थ्यकर्मी तथा औषधि ब्यवसायीको सुरक्षाको ग्यारेन्टी नभएको खण्डमा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ । अस्पताल जस्तो सम्बेदनशील क्षेत्रमा बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि भएको सांघातिक आक्रमणले मकवानपुरको स्वास्थ्य क्षेत्रमा गंभीर असर पुगेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*