बकैयाको फुटबल प्रतियोगितामा जिल्ला खेलकुदको सहयोग

साझाकुरा
२०८० भाद्र २८, बिहीबार ०८:४९

हेटौंडा-बकैया गाउँपालिका–८, बङ्दा खेलमैदानमा बुधवारबाट सुरु खुल्ला नकआउट फुटबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको छ ।कोन्ज्योसोम अनलाइन टिभीको आयोजनामा भएको प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगितामा बागमती–७ र पहरे युनाइटेडले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटनसँगै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले आयोजकलाई खेलकुद सामग्रीअन्तर्गत् शिल्ड र ट्रफी उपलब्ध गराएका हुन् । प्रतियोगिताको प्रथम र द्वितीय हुनेलाई जिल्ला खेलकुदले सौजन्यमार्फत शिल्ड र ट्रफी सहयोग गरेको अध्यक्ष भेष खड्कीले जानकारी दिए । कोन्ज्योसोम अनलाइन टिभिका अध्यक्ष सोयल लामालाई अध्यक्ष खड्गी, समितिका प्रमुख माधव कोइराला र सदस्य आलोक स्याङ्तानले शिल्ड, ट्रफी हस्तान्तरण गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिले मकवानपुरगढी–२, स्थित उद्यमशील युवा क्लबलाई पनि बल सहयोग गरेको छ । यसैगरी, फुटबल प्रतियोगिताअन्तर्गत् बागमती–७ ले कोन्ज्योसोमलाई १–० गोलको अन्तरले पराजित गरेको छ । बागमतीका लागि विकास भोलनले १ गोल गरे । बुधवार भएको दोस्रो खेलमा पहरे युनाइटेड विजयी भएको छ । पहरे युनाइटेडले सिमातमाइलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहरे युनाइटेडका आयोश कार्की १ गोल गरेका हुन् । प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई नगद ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*