नेम्बाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

साझाकुरा
२०८० भाद्र २९, शुक्रबार १२:२२

हेटौंडा- संविधानसभा अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु भएको दुई दिनपछि अन्त्येष्टि गरिएको छ ।उनको बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ लिम्बू परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीको झण्डा ओढाएर बिदाइ गरे ।

यसअघि नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोकधुन बजाउँदै शवयात्रा गरेको थियो । शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।पशुपति आर्यघाटमा छोराहरु मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो । नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेम्वाङको मंगलबार बिहान ३ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । घरमै बेहोस भएका नेम्वाङलाई राति १ बजेर ५० मिनेट जाँदा अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरेका थिए । यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
दुवै सदनबाट
शोकप्रस्ताव पारित
राष्ट्रियसभा र प्रतिनिधि सभाको बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) को तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए । उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष थिए ।

यसैगरी, २०५६ मा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए ।संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*