मकवानपुर बहुमुखी क्याम्पस अध्यक्षमा पुनः पौडल

साझाकुरा
२०८० भाद्र ३०, शनिबार ०८:५६

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसको १७ औं क्याम्पससभाले नयाँ सञ्चालक समिति गठन गरेको छ ।सभाले ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेपनि अध्यक्षमा भने फेरि अनन्त पौडेल नै दोहोरिएका छन् । क्याम्पस सञ्चालक समिति सदस्यहरुमा नवराष्ट विष्ट, विष्णुप्रसाद दाहाल, बद्रीप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, डा.कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन भएका छन् । यसैगरी, क्याम्पस लेखा समिति संयोजकमा नवराज अर्याल, सदस्यहरुमा ध्रुवबहादुर भुजेल, रमिलाकुमारी सापकोटा, अप्सरा बस्नेत रहेका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको सभामा पौडेलले क्याम्पसका वार्षिक प्रगति प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष हीरालाल श्रेष्ठले २४ करोड ९८ लाख ६९ हजार तीन सयको चालु आव ०८०÷८१ को अनुमानित आयव्यव प्रस्तुत गरे । लेखा समितिको प्रतिवेदन संयोजक हरिप्रसाद हुमागाईले क्याम्पसमा व्यवस्थापकीय धेरै कमजोरी रहेको बताउँदै आर्थिक अवस्थालगायत समग्र पक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस सेवा समिति सभापति बद्रीप्रसाद लम्सालले सेवा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभालाई सम्बोधन गर्दै मकवानपुरका प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले निःशुल्क शिक्षा आवश्यक रहेको बताए । सामुदायिक क्याम्पसहरुमा मकवानपुर क्याम्पसले शिक्षा क्षेत्रबाट दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै सांसद बर्तौलाले उच्चशिक्षामा पनि निशुल्क गराउन सके कोही पनि शिक्षाबाट बञ्चित हुन नपर्ने बताए । उनले विद्यार्थी सहुलियत शिक्षामा सरकारले चासो राख्नुपर्नेमा जोड दिए । मकानपुरका प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले हेटौंडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको औंल्याए ।

इन्जिनियरिङ कलेजको अवधारणाका लागि आफूले पहल गरिरहेको सिंहले बताए । इन्जिनियरिङ कलजे स्थापना गर्नं सके दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने उनको भनाई छ ।सभामा क्याम्पसका पूर्वअध्यक्ष तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठलगायतले मकवानपुर क्याम्पसको शैक्षिक अवस्थाको विषयमा आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*