बागमती प्रदेशसभा बैठक: डाक्टर कुटपिट र सुन काण्डसम्म

साझाकुरा
२०८० भाद्र ३१, आईतवार १२:२४

हेटौंडा बागमती प्रदेशसभाको शनिबारको बैठकमा हेटौंडामा भएको डाक्टर कुटपिट र १ किलो सुन काण्डले प्रवेश पाएको छ । सांसद एकालाल श्रेष्ठले गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा भएको डाक्टरहरु माथिको हातपातको विषयमा विशेष समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।बागमती प्रदेशसभाको दोस्रो अधिवेशनको ३१ औं वैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषि को हो भनेर विशेष समिति बनाएर छानवीन गर्नुपर्ने बताए ।

डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरी सृजना भयो भन्ने विषय पनि महत्वपूर्ण रहेको भन्दै उनले गम्भिर अनुसन्धान पछि निचोडमा पुग्नुपर्ने उनले बताए । यसैगरी केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा बागमती प्रदेशका मन्त्री समेत संलग्न भएकोमा नेकपा एमालेले जवाफ माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको नाम सुन प्रकरणमा संलग्न भएकोमा सांसद समक्ष उनले जवाफ दिनुपर्ने माग गरेका हुन् । थपलियाले भने ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ । यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ ।’

गत मंगलबार प्रहरीले विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो । सो प्रकरणमा मन्त्री लामाको नाम मुछिएको भन्दै थपलियाले सरकारले र मन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । यद्यपी मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् । मन्त्री र कांग्रेस जिल्ला समिति काभ्रे सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुन्छ, अर्कै प्रसंगमा खिचेको तस्वीरका कारण नाम जोड्नु गलत हुने उनले बताए ।

१ किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा

परेकोमा विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा मन्त्री लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन् । मन्त्री लामाले घटनाको सत्यतथ्य छानबीन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबीनका लागि आफूले पनि सहयोग गर्ने उनले बताए ।

यसैवीच बैठकले संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो । शोक प्रस्ताव पारित भएसँगै सभाुमख पाठकले प्रदेशसभाको बैठक आगामी असोज १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*