मकवानपुरको सामुदायिक क्याम्पस एमएमसीलाई प्रादेशिक विश्वविद्यालय बनाउन छलफल सुरु
हेटौंडा- मकवानपुरकै पुरानो सामुदायिक शिक्षण संस्था मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउनतर्फ सरोकारवालाहरु छलफलमा जुटेका छन् । केही समयदेखि क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्ने प्रयास भएको सन्दर्भमा मकवानपुर बबहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय या सार्वजनिक विश्वविद्यालय बनाउने कामलाई अघि बढाउने थालनी भएको हो ।
यसअघि २५ असारमै बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा प्रदेशको राजधानी हेटौंडामा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा अघि बढाउनको लागि पाँच सदस्यीय समिति निर्माण गरिसकेको छ । क्याम्पसका पूर्वअध्यक्ष समेत रहेको पौडेलेको समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माइकल रामचन्द अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेको समिति निर्माण भएको हो ।
समितिको सदस्यसचिवमा क्याम्पसका साहायक क्याम्पसप्रमुख डा. यम सिलवाल रहेका छन् । हेटौंडामा भएको क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाको बैठकले प्रदेशको राजधानी हेटौंडामा विश्वविद्यालयको आवश्यक्ता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई नै विश्वविद्यालयको रुपमा अघि बढाउने गरी काम गर्न समिति निर्माण गरिएको क्याम्पसका प्राचार्य डा. शंकरप्रसाद उपाध्ययले साझाकुरालाई बताए ।
आइतवार सरोकारवाला निकायबीच क्याम्पसलाई विश्व विद्यालयको रुपमा अघि बढाउने विषयमा छलफल भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मकवानपुरकै ईतिहास हुने गरी मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा बिस्तार गरिने बताए । मुख्यमन्त्री जम्कट्टेलले मकवानपुरका सबै राजनीतिक दलको मेहेनतले यो क्याम्पस निर्माण गरेको र व्यवस्था परिवर्तन भएसँगै अहिले बागमती प्रदेशको राजधानी हेटौंडा भएपछि प्रदेशस्तरको विश्वविद्यालयको जरुरी रहेको बताए ।
‘क्याम्पसलाई प्रदेशकै सार्वजनिक विश्वविद्यालय अथवा प्रदेशकै केन्द्र्रीय क्याम्पस बनाउने ठाउँमा हामी पुगसिकेका छौं । कानुनी प्रक्रियाहरु, ऐनले दिएको, नियमावलीले व्यवस्था गरेअनुसार अगाडि बढ्न थुप्र्रै चिजहरु बाँकी रहेको र यो छलफलले एउटा बाटो खुलेको छ, ‘मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘धेरै महत्वपूर्ण कुरा पनि भएको प्रदेश सरकारको लागि र प्रदेश संरचनाको लागि, मकवानपुरबासीको लागि मापदण्ड केके चाहिन्छ भन्ने कुरा हाम्रो ऐनमा प्रष्टै छ ।’
उनले अहिले चलिरहेका विश्व विद्यालय जस्तै गरी यो पनि चल्नुपर्ने बताए । मुख्यमन्त्री जम्मकट्टेलले यसलाई औपचारिक रुपमा २ असोजमा उच्चशिक्षा परिषद्को बैठकले निर्णय गर्ने समेत बताएका छन् । त्यसपछि मात्रै प्रक्रिया अगाडि बढ्नेछ । उनले यसका धेरै तयारी पूरा गर्नुपर्ने ऐन र नियमावलीले भनेअनुसार पहिला सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने र अगाडि बढ्ने बताए ।
विश्वविद्यालय निर्माण गर्न अन्य जिल्लामा दुईतीन महिना अध्ययन गरेपनि अन्तिममा सबै हिसाबले विद्यार्थी संख्या र प्रदेशको राजधानी पनि भएको हुँदा आग्रहपूर्वाग्रह नराखी मकवानपुर पहिलो प्राथमिकतामा भएको उनले बताए । सबै पुग्ने भएपनि विश्वविद्यालयका लागि जग्गा नपुग्ने हुँदा तुरुन्तै व्यवस्था गर्नुपर्ने समेत उनले बताए । मुख्यमन्त्री जम्मकट्टेलले आफू भौतिक संरचनामा खर्च नगरौं भन्ने पक्षमा रहेको समेत बताए । विश्वविद्यालयमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने र त्यसका लागि विज्ञहरुको प्रतिवेदन समेत दिइसकेको उनले बताए ।
त्यसैगरी पूर्वमुख्यमनत्री पौडेलले राजधानीलाई उज्यालो पाटोतिर लैजान पनि विश्वविद्यालयले मद्धत गर्ने बताए । ऐन, कानुनअनुसार प्रक्रियामा अगाडि बढाउन सरकारलाई पौडेलले सुझाव दिएका छन् । सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अन्य जिल्लामा प्रादेशिक विश्वविद्यालय राख्ने माग भएपनि आफूले मकवानपुरमै राख्न पहल गरेको बताइन् । विद्यार्थी संख्या मात्रै नभई प्रदेशकै राजधानीको विषय भएको हुँदा पनि आफूले यसका लागि संघर्ष गरेको बताइन् । मकवानपुरमै विश्वविद्यालय निर्माण भएपछि सिंगो मकवानपुरलाई नै धेरै सहज हुने बताइन् ।
देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा दशजोड दुईदेखि विभिन्न संकायमा स्नाकोत्तरसम्मको अध्यापन हुँदै आएको छ । ६ हजार भन्दा धेरै विद्यार्थी अध्यनरत मकवानपुर बहुमुखी क्याम्पसमा मकवानपुर सहित बागमती प्रदेशको सिन्धुली, चितवन र मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाहीसम्मका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।
मकवानपुरलाई शैक्षिक नगरी बनाउने उदेश्यले क्याम्पसले विभिन्न जिल्लामा आफ्ना शैक्षिक कार्यक्रमबारे कार्यशाला गर्दै आएको क्याम्पसले जनाएको छ । छलफल कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, संविधानसभा पूर्वसदस्य प्रल्हाद लामिछाने,, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेललगायतको सहभागिता रहेको थियो ।