शिक्षा दिवसको अवसरमा विद्यालय पुरस्कृत
हेटौंडा- बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा बागमती प्रदेशभरिका उत्कृष्ट रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई पुरस्कृत गरेको छ ।मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयलाई उत्कृष्टताका आधारमा छनोट गरेर पुरस्कृत गरेको हो । प्रदेशभरीका सामुदायिक विद्यालयमध्यमा सबै भन्दा उत्कृष्ट स्थानमा भक्तपुरको मेधा माध्यमिक विद्यालय भएको छ । त्यसैगरी नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय द्वितीय भएको छ ।
यसैगरी काठमाडौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएको छ । चौथोमा काठमाडौंकै पृथ्वीनारायण माध्यमिक विद्यालय भएको छ । पाँचौमा काठमाडौंकै बलम्बु माध्यमिक विद्यालय भएको छ । उनीहरु सबैलाई शिक्षा दिवसका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टे र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नगद पुरस्कार, प्रमाणपत्र समेत दिएरपुरस्कृत गरे ।
संस्थागत विद्यालयतर्फ काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको रिलायन्स इन्टरनेसनल एकेडेमी, प्रथम भएको छ । द्वितीयमा काठमाडौं बालुवाटारको हिज किड्स इन्टरनेस्नल स्कुल रहेको छ । तृतीयमा काठमाडौं टोखा नगरपालिकाको लोरोसेन्ट माध्यमिक विद्यालय रहेको छ । तीनैवटा संस्थागत विद्यालयलाई नगद सहित पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले कृषि, स्वास्थ्य र प्राबिधिक शिक्षा विद्यालयमा पढाउनुपर्ने बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश सरकारले विद्यालयको क्षेत्रमा राम्रो काम गरेको दावी गरे । शिक्षामा अरु समस्या भन्दा पनि त्रुटी पाठ्यक्रममा रहेको बताए । अबको शिक्षा कृषि क्षेत्रमा केन्द्रित गर्नुपर्ने उनको सुझाब छ । स्वास्थ्य क्षेत्रमा नर्स र डाक्टर पढ्नका लागि धेरै शुल्क लिने गरेकोमा आपत्ति जनाउँदै उनले भने–‘अब नर्स र डाक्टर पढाउनका लागि चाहिने शुल्क प्रदेश सरकारले तोक्छ र त्यसलाई सबैले पालना गर्नुपर्छ ।’
बागमती प्रदेशका सामाजिक विकास मन्त्री मोक्तानले शिक्षामा सुधार गरेमात्र अन्य क्षेत्रमा सुधार हुने बताइन् । शिक्षा दिवसको कार्यक्रममा अध्यक्षता गर्दै मन्त्री मोक्तानले शिक्षामा सुधार गरेमा सबै क्षेत्र सुदृढ हुँदै जाने बताइन् । उनले समाज सुधार गर्नका लागि पहिलो व्यक्ति शिक्षक भएकाले शिक्षकले राम्रो शिक्षा दिन जरुरी रहेको बताइन् । अब प्रदेश सरकारले माध्यमिक विद्यालयस्तरको शिक्षा सुधार गर्नका लागि लगानी गरिरहेको बताइन् ।