शिक्षकका माग सम्बोधन गर्न सरकारलाई सांसद बर्तौलाको अनुरोध

साझाकुरा
२०८० आश्विन ४, बिहीबार ०९:४४

हेटौंडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षक महासंघको उठाएका माग विधेयकमा नै समावेश गरी सम्बोधन गरिनु पर्ने बताएका छन् ।शिक्षकहरुको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै सांसद बर्तौलाले विधेयक भित्र बसेर उपयुक्त कानून निर्माणको प्रक्रियामा आफू सक्रिय सहभागी हुने बताए ।

‘नेपाल शिक्षक महासंघले उठाएका मागलाई विधेयकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्छ ।’, उनले भने ‘त्यसको लागि सरकारले आजै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।’, बर्तौलाले संविधानसँग जोडिएका कतिपय विषयवस्तुमा भने थप छलफल र बहसको आवश्यकता महशुस गरेको बताए ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक–२०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनीयता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको बर्तौलाले बताएका छन् ।

बर्तौलाले सामाजिक संजाल मार्फत ऐक्यबद्धता जनाउँदै भनेका छन, ‘सरकारले शिक्षा ऐन मार्फत निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुविधाको व्यवस्था गर्नुपर्छ, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको व्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकलाई अध्ययन बिदाको सुविधा हुनुपर्ने, शिक्षकलाई सरकारी मर्यादाक्रममा समावेश गरिनुपर्छ ।’,

यस्तै, शिक्षकको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने, शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीयलाई अधिकृत र माध्यमिक तृतीयलाई उपसचिव समान सेवा सुविधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमित रुपमा तह र श्रेणी बढुवाको सुनिश्चितता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाको लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवाअवधि तोक्नुपर्ने, विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई कम्तिमा १ पटकको लागि खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

यसैगरी उपदानको व्यवस्था हुनुपर्ने लगायतका नेपाल शिक्षक महासंघको मागहरु उपयुक्त, जायज र न्यायसंगत रहेको बर्तौलाले बताएका छन् । यी मागहरुले शिक्षकको हित मात्रै नगरेर समग्र सार्वजनिक शिक्षाकै उज्यालो भविष्यका लागि नयाँ आयाम निर्माण गर्ने सांसद बर्तौलाले उल्लेख
गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*