मकवानपुरका विद्यालय बन्द, सवा लाख विद्यार्थी पढ्नबाट बञ्चित

साझाकुरा
२०८० आश्विन ५, शुक्रबार ०८:५७

हेटौंडा- विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शन चलिरहँदा मकवानपुरका सामुदायिक विद्यालयहरु भने बन्द भए । विद्यालय बन्द हुँदा जिल्लाका १ लाख बढी विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।प्रतिनिधिसभामा टेबल भएको विधेयक सच्याउनुपर्ने मागसहित शिक्षकहरु बुधवारबाट राजधानीमा आन्दोलनरत् छन् । आन्दोलन बिहीवार पनि जारी रहँदा मकवानपुरमा मात्रै नभई देशभरका अधिकांश सामुदायिक विद्यालय बन्द भए । काठमाडौं केन्द्रित आन्दोलनमा मकवानपुरमा थुप्रै शिक्षकहरु ऐक्यबद्धताका लागि पुगेका छन् । जिल्लामै रहेका शिक्षकहरु पनि विद्यालय नगएको पाइएको छ ।

गतवर्ष ०७९÷८० को तथ्यांकअनुसार मकवानपुरमा ५ सय ११ सामुदायिक विद्यालय छन् । जिल्लाभरका विद्यालयमा सवा १ लाख विद्यार्र्थी अध्ययनरत् छन् । जिल्लाभर २ हजार ८ सय शिक्षक र करिब ६ सय प्रशासनिक तथा अन्य सहायकस्तरका कर्मचारी छन् । विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरु स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायतका विषयमा माग राख्दै आन्दोलन गरिरहेका छन् ।

हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको गेट बन्द थियो । श्रमिकका प्रधानाध्यापक श्रीराम दाहाल आन्दोलनका लागि काठमाडौंमा छन् । हेटौंडा–९, स्थित प्रगति माध्यमिक विद्यालयमा भने केही शिक्षकहरु थिए । तर, उनीहरु पनि आन्दोलनका कारण विद्यालय बन्द गरेर घर फर्किने तयारीमा भेटिएका थिए । बिहीबार बिहान १०ः३० बजे हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालय पुग्दा मूल गेट खुला र अधिकांश कक्षा कोठाहरु बन्द थिए । अमर माविमा न शिक्षक, कर्मचारी नै थिए ।

हेटौंडा–८ को चन्द्रोदय माध्यमिक विद्यालय पनि बिहीबार सुनसान थियो । विद्यालयको गेट खुला थियो भने कक्षा कोठा बन्द थिए । हेटौंडा–५ को बालज्योति माध्यमिक विद्यालयको पठनपाठन बन्द थियो । गेट खुला थियो भने केही कर्मचारीहरु भेटिए । विद्यालयका सबै कक्षा बन्द अवस्थामा थियो । हेटौंडा–४ को आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको प्रा·णमा शिक्षकहरु गफिँदै गरेको भेटिए । विद्यालयको प्रशासन र कक्षाकोठा सबै बन्द थिए भने मूल गेटमा एकजना सुरक्षा गार्ड तैनाथ थिए । हेटौंडा–४ भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को गेट भित्रबाटै बन्द थियो । विद्यालयको सबै कक्षाकोठा बन्द थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*