‘बालकोट’को नजर अन्तै परेपछि कृष्ण दाहाललाई संकट

साझाकुरा
२०८० आश्विन ६, शनिबार ०८:११

हेटौंडा-देशको दोस्रो ठूलो पार्टी नेकपा एमालेको बागमती प्रदेश कमिटी अध्यक्षको दौडमा रहेका मकवानपुरका कृष्णप्रसाद दाहालमाथि संकट देखिएको छ । ८–९ असोजमा काठमाडौंमा हुने एमाले बागमती प्रदेशको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन नजिकिएसँगै अध्यक्षका प्रत्यासीहरु पनि कार्यकारी पद लिन पार्टीभित्र तीव्र दौडधुपमा लागेका छन् ।

दौडधुपको सूचिमा मकवानपुरका पूर्वप्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल पनि थिए । तर, एमालेको ‘बालकोट’ नामले चर्चित पार्टी नेतृत्वको ‘कोर टिम’ले भने प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई सर्वसम्मत गराउने बारे परामर्श गरेको चर्चा चुलिएको छ ।

प्रदेश अध्यक्षको आकांक्षीमा मकवानपुरका दाहाल, रामेछापका ढुंगेलसहित नुवाकोटका केशव पाण्डे र काठमाडौंका सानुकुमार श्रेष्ठ पनि छन् । चर्चा भएअनुसार एमाले अध्यक्ष केपी शर्माओलीले ढुंगेल वा श्रेष्ठलाई अध्यक्ष बनाउन चाहेका छन् । अध्यक्ष ओलीले दुई जनामध्ये पनि ढुंगेललाई बढी चासो दिएको चर्चा छ । जसकारण मकवानपुरका दाहाललाई अध्यक्ष बन्न संकट निम्तिएको हो । यद्यपि, दाहाल अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने मनस्थितिमा छन् । प्रदेश अधिवेशन प्रतिनिधिहरुसँग छलफलका क्रममा उनले सर्वसम्मत भएपनि चुनाव भएपनि आफू मैदानमै रहेको बताएका छन् ।

पूर्वसांसद तथा प्रतिनिधिसभा अर्थ समितिका पूर्वसभापति दाहालले नेतृत्वले आफूलाई उम्मेदवार नबन्नु नभनेको र अध्यक्षको दाबी गर्ने सबै योग्यता तथा योगदान रहेकाले शीर्ष नेतृत्वले आफ्नो पक्षमा निर्णय गर्ने विश्वास लिए । दाहालले अध्यक्षको तयारी यसअघि नै थालिसकेका थिए ।अध्यक्षको उम्मेदवार बन्न नै केन्द्रीय सदस्य दाहाल प्रदेश प्रतिनिधि चयन भएर आएका छन् ।

दाहाल नेतृत्व र अधिवेशन प्रतिनिधि दुवैको समर्थन लिएर बागमतीको अध्यक्ष बन्ने अभियानमा रहेको मकवानपुरका युवानेता दीपक न्यौपानेले बताए । दाहालले पार्टीका नेताहरुलाई कुनै एकजनाको पक्षमा विभाजित नहुनसमेत आग्रह गरेको निकट स्रोतले जनाएको छ । मकवानपुर १ बाट ३ पटक सांसद निर्वाचित दाहाल २०४८ का सबैभन्दा कान्छो सांसद थिए । उनले मकवानपुर एमालेको नेतृत्वसमेत गरिसकेका छन् ।

एमालेको लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटगत प्रतिस्पर्धा भएपछि बागमती प्रदेश अधिवेशनमा भने गुटगत प्रतिस्पर्धा रोक्ने प्रयास नेतृत्व तहबाटै भएको छ । अर्थात, अध्यक्ष ओली, पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले नेतृत्व सर्वसम्मतबाटै चयन हुने बताइरहेका छन् । सर्वसम्मत नेतृत्व चयन हुँदा अध्यक्ष ओलीको चाहनामा भर पर्ने देखिन्छ । आउँदो सोमबारबाट सुरु हुने प्रदेश अधिवेशनमा एमाले अध्यक्ष ओली गुटगत प्रतिस्पर्धा गर्न दिन नहुने पक्षमा उभिएका हुन् । उनले पार्टीभित्र दुईवटा समूह बनेर हुने प्रतिस्पर्धालाई रोक्ने गरी नेताहरुसँग छलफल सुरु गरेका छन् ।

अध्यक्ष ओलीले श्रेष्ठ र ढुंगेलमध्ये एकजनालाई अध्यक्ष बनाउने प्रयास गरेको चर्चा छ । एमाले स्रोतका अनुसार नेकपाकालमा यी दुई नेताले ओलीको पक्षमा अडान लिएकै कारण उनी त्यसको गुन तिर्ने पक्षमा छन् । त्यतिबेला सानु श्रेष्ठ बागमती प्रदेशको सभामुख थिए । नेकपाको ओली इतरको समूहमा बहुमत सांसद हुँदाहुँदै सभाामुख श्रेष्ठले प्रदेशसभाको बैठक नडाकेर ओलीको समूह रक्षा गरेका थिए । त्यतिबेला इतर समूहबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीको दाबीमा थिइन् । सभामुख श्रेष्ठकै भूमिकाका कारण शाक्य मुख्यमन्त्री हुन सकिनन् । त्यसो त, त्यतिबेला बागमती प्रदेशको आर्थिक मामिलामन्त्री रहेका ढुंगेलले पनि इतर समूहको रणनीति फेल गराउन अनेक प्रयास गरेका थिए ।

बागमती प्रदेश जोगाउन र ओलीको समूहलाई संरक्षित गर्न बलियो भूमिका निर्वाह गरेका थिए । त्यसै कारण, अहिले ओली यी दुईमध्ये एकलाई अध्यक्ष बनाउन चाहिरहेको बताइन्छ । दाहाललाई मकवानपुरले प्रदेश अध्यक्षको रुपमा अगाडि सारेको भए पनि उनी ओली समूहमा पूर्णरुपमा लागेका थिएनन् । नेकपाको विवाद बीचमा रहेका दाहाल अन्तिम समय मात्रै ओली समूहमा खुलेका थिए । त्यसैले, अहिले ओलीले दाहाललाई अध्यक्ष बनाउने विषयमा कम चासो दिएको पनि एमाले स्रोतको दाबी छ ।

एमाले नेताहरुको भनाइमा ओलीले सर्वसम्मतका लागि वरिष्ठ उापध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललागयतका नेताहरुसँग छलफल गरेका छन् । बागमती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरुको भूमिका पनि प्रभावशाली हुन्छ । लुम्बिनीमा झैँ पौडेल र पोखरेलको समूह बन्दा पार्टी कमजोर बन्ने भन्दै ओलीले सहमति जुटाउन पार्टी पङ्क्तिलाई सन्देश प्रवाह गरेका छन् । तर, नेताहरु भने प्रतिस्पर्धा गर्ने मुडमा देखिएका छन् ।

यद्यपि, पाण्डे र शाक्यहरुले अहिलेसम्म कुनै पनि नेतालाई अगाडि सारेका छैनन् । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गुटभन्दा पनि सर्वसम्मतका लागि सुझाव दिएको बताइन् । गुटगत अवस्थाले निरन्तरता पाए एमाले थप कमजोर हुने र विगतकै नियति दोहोरिने शाक्यको भनाइ छ । लुम्बिनी प्रदेशमा अध्यक्ष ओलीले चुनाव रोक्न चाहेका थिए । ओलीले लुम्बिनी अधिवेशनको अन्तिम समयसम्म पनि चुनाव रोक्न चाहेका थिए । तर, पोखरेल र पौडेलका समूहका नेताहरुवीच सहमति जुट्ने संभावना नभएपछि चुनावी प्रतिस्पर्धा भएको थियो । बागमतीमा त्यही घटना दोहो¥याउने पक्षमा ओली नदेखिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*