मकवानपुरसहित प्रदेशका १३ लाख विद्यार्थी पढ्नबाट बञ्चित
हेटौंडा- प्रस्तावित शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको आन्दोलनका कारण बागमती प्रदेशका १३ जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प भए ।नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा बागमती प्रदेशमा कार्यरत स्थायीदेखि इसिडी सहजकर्ता, करार, राहत, निजीस्रोत, लियन, अनुदानलगायतका दरबन्दीमा कार्यरत शिक्षकहरु आन्दोलनमा होमिँदा मकवानपुरका एकलाख बढी र प्रदेशभर १३ लाख विद्यार्थी पढ्नबाट बञ्चित भएका हुन् । शिक्षक महासंघ र सरकारबीच शुक्रबार मध्यान्ह ६ बुँदे सम्झौता भएको र आन्दोलन फिर्ता लिएको समाचारमा आएका छन् ।
तर, राहत शिक्षकहरुले आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकहरुले सडक संघर्ष नछोड्ने चेतावनी दिइरहेकाले विद्यालय सञ्चालन अनिश्चित जस्तै बनेको छ । अभिभावकहरुले बालबालिकाको पढ्न पाउने अधिकारविपरित शिक्षकहरुले विद्यालय बन्द गराएको भन्दै विरोध गरिरहेका छन् । आन्दोलनमा बागमती प्रदेशको काठमाडौंबाट ५ हजार १ सय ३४, भक्तपुरका १ हजार ७ सय २७, ललितपुरका १ हजार ९ सय ६२, काभ्रेका ३ हजार ८ सय ६४ जना शिक्षक आन्दोलनमा सहभागी भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शिक्षक आन्दोलनमा सिन्धुपाल्चोकको ३ हजार २ सय ७४, मकवानपुरको ३ हजार ५ सय ३०, चितवनका ३ हजार ९ सय २९, नुवाकोटका ३ हजार १ सय ५७, धादिङका ३ हजार ७ सय ७४, रामेछापका २ हजार ४ सय ९२, दोलखाका २ हजार १ सय ६७, रसुवाका ६ सय ६७ र सिन्धुलीका ३ हजार ५ सय २० शिक्षकहरु विद्यालय नगई आन्दोलनमा गएको पाइएको छ ।
उक्त तथ्यांक विद्यालयमा अनुपस्थित शिक्षकहरुको गणनाबाट गरिएको भए सबै शिक्षकहरु आन्दोलनमा सहभागी नभएको पनि पाइन्छ । अधिकांश शिक्षकहरु विद्यालय पनि नजाने र आन्दोलनमा पनि सहभागी नहुने गरेको आन्दोलनरत् शिक्षकहरु नै बताउँछन् । शिक्षक आन्दोलन टाढा घर भएका शिक्षकका लागि परिवारसँग भेट गर्ने उत्तम समय बनेको पाइन्छ । शिक्षकको आन्दोलनका कारण प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख विद्यार्र्थीको पठनपाठन प्रभावित बनेको छ । शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनका लागि काठमाडौैं हिँडेसँगै प्रदेशका सामुदायिक विद्यालयका १३ लाख ७८ हजार ७ सय ८४ विद्यार्र्थी पठनपाठनबाट वञ्चित भएका हुन् ।
मकवानपुरका १ लाख ५ हजार ७ सय २२ सिन्धुलीका सामुदायिक विद्यालयका ७८ हजार ७ सय ८६ जना, रामेछापका ३६ हजार ४ सय ३ विद्यार्र्थीको शिक्षाको अधिकार ठप्प भयो । दोलखाका ३६ हजार ८ सय २१, सिन्धुपाल्चोकका ५५ हजार ७ सय ७५, काभ्रेका ८२ हजार १ सय ९९, ललितपुरका १ लाख २९ हजार ६ सय ६९, भक्तपुरका ७९ हजार ५ सय ३५, काठमाडौंका ४ लाख ६६ हजार ६ सय ७८, नुवाकोटका ५९ हजार १ सय ३८, रसुवाका ९ हजार २ सय ५३, धादिङका ७४ हजार ७ सय २९, र चितवनका १ लाख ६४ हजार ७६ विद्यार्थी पठनपाठनबाट वञ्चित भए ।
प्रतिनिधिसभामा टेबल भएको विधेयक सच्याउनुपर्ने मागसहित शिक्षकहरु बुधवारबाट राजधानीमा आन्दोलनरत् छन् । आन्दोलन बिहीवार पनि जारी रहँदा मकवानपुरमा मात्रै नभई देशभरका अधिकांश सामुदायिक विद्यालय बन्द थिए । काठमाडौं केन्द्रित आन्दोलनमा मकवानपुरमा थुप्रै शिक्षकहरु ऐक्यबद्धताका लागि पुगेका छन् । जिल्लामै रहेका शिक्षकहरु पनि विद्यालय नगएको पाइएको छ । गतवर्ष ०७९÷८० को तथ्यांकअनुसार मकवानपुरमा ५ सय ११ सामुदायिक विद्यालयहरु छन् ।
विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरु स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायतका विषयमा माग राख्दै आन्दोलन गरेका हुन् । हेटौंडा उपमहानगरभित्रका सबै सामुदायिक विद्यालयहरु बिहीवार र शुक्रबार ठप्प थिए । उपमहानगरप्रमुख मीनाकुमारी लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय सञ्चालन गर्न निर्देशन दिएकी छन् ।