शिलान्यासको १४ वर्षसम्म अपूर्ण ‘गौरिटार रंगशाला’

साझाकुरा
२०८० आश्विन ७, आईतवार ०८:५७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, गौरिटारमा १४ वर्ष अघि शिलान्यास गरिएको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) अझै अपूर्ण छ । हेटौंडामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता–२०३९ हुने समयमै गौरीटारमा अत्याधुनिक सुबिधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा गरियो ।चारदसक अघि गौरीटार रंगशालामा खेलकुदको अभ्यास गर्ने सपना देखेका कतिपय खेलाडीले यो संसारबाट बिदा लिइसकेका छन् भने कतिपय खेलाडीले खेलजीवनबाट सन्यास लिइसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्दप्रशिक्षणमा राख्न भन्दै २८ जेठ २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले भब्य तयारीका साथ गौरिटार रंगशालाको शिलान्यास गरेका थिए । शिलान्यासकर्ता नेपालकै राजनीति उथलपुथल भइसक्यो तर, एउटा देशकै महत्वपूर्ण खेलकुद संरचना भने अझै अपूर्ण छ ।

तत्कालीन राष्ट्रिय खेलकुद परिषद्ले पाँच वर्षभित्र निर्माण सक्ने गरी २ अर्ब ५० करोडको लागतमा काम सुरु गरेपनि गौरिटार रंगशाला लामो समयसम्म कम्पाउण्डभित्र खुला मैदानमा सीमित भयो । विगतमा यहाँभित्र खेलाडीका लागि बनाइएका होस्टल ‘भुतघर’ जस्तै बनेका थिए । हाल होस्टललाई प्रदेश खेलकुद विकास परिषद्ले आफ्नो कार्यालयको रुपमा प्रयोग गरिरहेको छ ।

पाँच वर्षभित्र सञ्चालनका लागि तयार गर्ने भनिए पनि केन्द्रीय खेलकुद प्रतिष्ठान आयोजनाले बजेट नै पाएन । जसका कारण निर्माण थालेको १४ वर्ष बितिसक्दा पनि केन्द्रीय खेलकुद प्रतिष्ठानमा बन्दप्रशिक्षणका लागि पूर्वाधार तयार हुन नसकेको हो । महत्वको योजनामा बजेटले निरन्तरताा नपाउँदा देशका थुप्रै पूर्वाधार निर्माण अलपत्र छन् ।

जसमध्ये खेलकुद क्षेत्रमा कोसेढुंगा सावित हुने गौरिटार रंगशालाको योजना भने कछुवाको गतिमा अगाडि बढिरहेको छ । यहाँ फुटबल, भलिबल, क्रिकेटका लागि खेलमैदान, स्विमीङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने राखेपको योजना थियो ।योजना पूरा गर्न विगतमा सरकारले ८ वर्षमा ५ करोड बजेट छुट्यायो ।

यही बजेटबाट ब्वाइज होस्टल, कम्पाउन्ड वाल र गेट निर्माण गरियो । मुलुकमा संघीयता आएपछि बागमती प्रदेश सरकारले क्रमागत बजेटबाट फुटबल ग्राउन्ड, रनिङ ट्रयाक सिन्थेटिक, भिआईपी प्याराफिट र लाईटिङ गर्ने गरी ९० करोड रुपैयाँको लागत अनुमान तयार पारेको छ । १३ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई केसी–सप्तकोसी–ओमसाई जेभीले फुटबल ग्राउन्ड, रिटेनिङ वाल, रनिङ ट्रयाक र भिआईपी प्याराफिट निर्माणको काम गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालय हेटौंडाका सूचना अधिकारी कृष्ण आचार्यले एकै वर्षमा पर्याप्त बजेट दिन नसकिने र बजेट भएपनि एकै वर्षमा काम सम्पन्न हुन नसक्ने अवस्थाले गर्दा प्रदेश सरकारबाट बहुबर्षीय क्रमागत आयोजनाको रुपमा स्वीकृत गरेर काम गरिरहेको बताए । उनले डिपिआरअनुसार हरेक वर्ष बजेट छुट्याएर काम गरिरहेको बताए । क्रिकेट मैदानका लागि ७१ करोड १९ लाख र स्विमिङ पुल निर्माणका लागि ५० करोड ३२ लाख रुपैयाँ लाग्ने अनुमानसहित डिपिआर तयार भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्मार्फत खर्चगर्ने गरी यसवर्ष स्विमङ पुल निर्माण गर्न ३ करोड र क्रिकेट मैदान निर्माण गर्न ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । गौरीटारमा कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिने बताइएको छ । शिलान्यास गर्ने समयमा तयार गरिएको गुरुयोजना अनुसार अहिले काम हुन सकेको छैन । जति बजेट निकाशा भयो त्यसैअनुरुपको काम गर्ने गरी योजना बनाइएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि कोसेढुंगा बन्ने विश्वास लिइएको यो प्रतिष्ठान निर्माणमा देखिएको सुस्तताले खेलाडी र खेल क्षेत्रका अगुवा भने चिन्तित छन् । समयमै संरचना तयार नहुँदा खेलाडी उत्पादन र खेलाडीहरुको क्षमता विकासमा बाधा पुगेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी बताउँछन् । उनले खेलकुदका संरचना निर्माणमा तीनै तहका सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

गौरिटार रंगशालामा बागमती प्रदेश सरकारले करिब ९० करोड रुपैयाँबराबरको भौतिक पूर्वाधार निर्माण गर्ने गरी डीपीआर तयार गरेको छ । एउटा खेलकुद संरचना नबन्दा प्रदेश खेलकुद विकास परिषद्ले क्लबको मैदानमा प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरिरहनु परेको छ । निर्माणाधीन अवस्थामा रहेकाले गौरिटार रंगशाला हालसम्म खेल्नलायक छैन । प्रदेश खेलकुद प्रतियोगिता दुईपटक हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।

गौरिटार रंगशालामा यसअघि राष्ट्रिस्तरको महिला फुटबल भएको थियो । त्यसयता यहाँ महत्वपूर्ण खेल हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजीमा लागेको धुर्मुस–सुन्तली फाउन्डेशनले पनि २०७४ सालमा हेटौंडाको गौरिटार रंगशालाको जग्गा अवलोकन गरेको थियो । केन्द्रीय खेलकुद प्रतिष्ठान अन्तरगतको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सम्भाव्यताको खोजीमा टोली हेटौंडा आएको थियो । गौरीटार रंगशालाको जग्गामा कुरा नमिलेपछि फाउण्डेसनले चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*