‘एमएमसी’लाई विश्वविद्यालय बनाउने पहलसँगै प्रदेश सरकारले माग्यो आवेदन
हेटौंडा- बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बागमती प्रदेशमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना प्रक्रिया अगाडि बढाएको हो ।केही समयदेखि मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने बिषयमा तीब्र बहस भइरहेको समयमा प्रदेश सरकारले सूचना प्रकाशन गरेको हो । प्रदेश उच्चशिक्षा ऐन २०७८ बनेको डेढ वर्षपछि प्रदेश सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउने आशयको सूचना प्रकाशन गरेको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्चशिक्षा परिषद्को सचिवालय, हेटौंडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि सार्वजनिक सूचना माग गरेको हो । प्रदेश उच्चशिक्षा परिषद्को सचिवालयले आइतबार ३० दिने सार्वजनिक सूचना जारी गर्दै प्रदेश उच्चशिक्षा ऐनको अनुसूचीमा व्यवस्था भएअनुसारको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिकसंस्थालाई रीतपूर्वक आवेदन दिन सूचित गरेको छ ।
ऐनमा प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापना गर्न सक्ने, मुनाफा नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना तथा सञ्चालन हुन सक्ने शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान स्थापना गर्न सकिने र यसका लागि परिषद्को सिफारिसमा प्रदेश सरकारको स्वीकृतिले स्थापना हुने व्यवस्था गरिएको छ । यो सूचनासँगै मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादिेशिक विश्वविद्यालय निर्माण गर्ने बाटो खुलेको छ । मुलुकमा भबिश्य नभएको भन्दै माध्यमिक तहको अध्ययन पूरा गरेपछि विदेशिने क्रम बढेपछि नेपालका करिब ढेड दर्जन विश्वविद्यालयले उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी पाउन छाडेको अवस्था छ ।
प्रदेश उच्चशिक्षा नियमावलीमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न आवेदन दस्तुर एक लाख रुपैयाँ र स्वीकृति दस्तुर पाँच लाख रुपैयाँ बुझाउनु पर्ने छ । यस्तै उच्चशिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले निवेदन दस्तुरबापत ७५ हजार रुपैयाँ र स्वीकृत दस्तुरबापत तीन लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ । मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने बिषयमा केही दिन अघि सर्वदलीय सहमति भएको थियो ।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने सहमति भएको मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख शंकर उपाध्यायले साझाकुरालाई बताए । प्रादेशिक विश्वविद्यालय रोजगारमूलक तथा प्राबिधिक शिक्षालाई प्राथमिकता दिनेगरी स्थापना गर्ने तयारी गरिएको छ । प्रदेश उच्चशिक्षा परिषदले पनि कृषि, प्राबिधिक, रोजगारमूलक बिषय अध्यापन गराउने विश्वविद्यालय, प्रतिष्ठानलाई प्राथमिकता दिन चाहेको जनाएको छ ।
यसअघि २५ असारमै बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हेटौंडाको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा अघि बढाउनको लागि पाँच सदस्यीय समिति निर्माण गरिसकेको छ । क्याम्पसका पूर्वअध्यक्ष समेत रहेको पौडेलेको समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माइकल रामचन्द अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेको समिति निर्माण भएको हो ।
समितिको सदस्यसचिवमा क्याम्पसका सहायक क्याम्पसप्रमुख डा. यम सिलवाल रहेका छन् । क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाको बैठकले हेटौंडामा विश्वविद्यालयको आवश्यक्ता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई नै विश्वविद्यालयको रुपमा अघि बढाउने गरी काम गरहेको क्याम्पसप्रमुख उपाध्ययले बताए ।
मुख्यमन्त्री जम्कट्टेलले मकवानपुरका सबै राजनीतिक दलको मेहेनतले मकवानपुर बहुमुखी क्याम्पस संचालन गरेको र मुलुकको व्यवस्था परिवर्तन भएसँगै अहिले बागमती प्रदेश राजधानीमा प्रदेशस्तरको विश्वविद्यालयको जरुरी रहेको बताएका थिए । मुख्यमन्त्री जम्कट्टेल प्रदेश उच्चशिक्षा परिषद्को अध्यक्ष पनि हुन् । कानुनी प्रक्रिया, ऐनले दिएको, नियमावलीले व्यवस्था गरेअनुसार अगाडि बढ्न थुप्र्रै चिजहरु बाँकी रहेको र यो छलफलले एउटा बाटो खुलेको मुख्यमन्त्री जम्मकट्टेलले केहीदिन अघिको बैठकमा बताएका थिए ।
मकवानपुर बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार सबै पुगेपनि विश्वविद्यालयका लागि जग्गा नपुग्ने हुँदा तुरुन्तै व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताइएको छ । मुख्यमन्त्री जम्मकट्टेलको धारणा भने भौतिक संरचनामा खर्च नगर्ने भन्ने हो । विश्वविद्यालयमा कृषि, स्वास्थ्य र प्राविधिक विषयलाई प्राथमिकता दिने र त्यसका लागि विज्ञहरुको प्रतिवेदन आइसकेको बताइएको छ ।
सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रुपमा पहिचान बनाएको मकवानपुर बहुमुखी क्याम्पसमा दशजोड दुईदेखि स्नाकोत्तरसम्म ६ हजार भन्दा धेरै विद्यार्थी अध्यनरत छन् । मकवानपुरलाई शैक्षिक नगरी बनाउने उदेश्यले क्याम्पसले विभिन्न जिल्लामा आफ्ना शैक्षिक कार्यक्रमबारे कार्यशाला गर्दै आएको छ ।