एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल, उपाध्यक्षमा बर्तौलाको दाबी

साझाकुरा
२०८० आश्विन ९, मंगलवार ०९:४७

हेटौंडा- नेकपा एमाले बागमती प्रदेश अधिवेशन सोमबारबाट सुरु भएको छ । देश संघीयतामा गएपछि पहिलो पटक एमालेले प्रदेश अधिवेशन गरिरहेको हो । एमालेले लुम्बिनी प्रदेशको अधिवेशनपछि बागमती प्रदेशको अधिवेशन थालेको हो ।अधिवेशनमा पार्टी प्रदेश कमिटीको पदाधिकारीमा मकवानपुरका दुई नेता दाबेदार छन् । अध्यक्षमा निवर्तमान प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल र उपाध्यक्षमा वर्तमान प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दिने भएको चर्चा छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अर्थविकास सभापतिसमेत रहेका दाहाल हाल पार्टीको केन्द्रीय सदस्य छन् । एमाले बागमती प्रदेशको अध्यक्षमा दाहालसँगै पाँच जना आकांक्षी देखिएका छन् ।

अध्यक्षमा केन्द्रीय सदस्यहरु रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरु चितवनका कृष्णभक्त पोखरेल र काठमाडौंका सानुकुमार श्रेष्ठ आकांक्षी हुन् ।आकांक्षीमध्ये ढुंगेल र मकवानपुरका दाहाल अगाडि देखिएका छन् । ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । रामेछापको तीनपटक पार्टी नेतृत्व सम्हालिसकेका उनी अहिले केन्द्रीय सदस्य छन् ।

रामेछापको संसदीय निर्वाचनमा चारपटक पराजित भएका उनी २०७४ को निर्वाचनमा भने प्रदेशसभामा निर्वाचित भएका थिए । दाहालले मकवानपुरबाट २०४८, २०५६, २०७४ मा प्रतिनिधिसभा सदस्यमा चुनाव जिते । उनी २०५१ सालमा कमल थापासँग पराजित भएका थिए । सानुकुमार श्रेष्ठ पनि एमाले बागमती प्रदेश आकांक्षीका रुपमा देखिएका छन् । अघिल्लो कार्यकालमा बागमती प्रदेशको सभामुख रहेका उनी पार्टीको केन्द्रीय कमिटीमा छैनन् ।

उपाध्यक्षका दाबेदार बर्तौला प्रदेश कमिटी उपसचिव छन् । पार्टीले सांसदहरुलाई अध्यक्ष वा सचिवमा उम्मेदवारी दिन नपाउने नियम बनाएसँगै बर्तौलाले उपाध्यक्षमा दाबी गरेका हुन् । उपाध्यक्षमा बर्तौलासँगै ईश्वरचन्द्र पोखरेल, कुमार खकुरेल, रामहरि सुवेदी, भूमि त्रिपाठी, मधुसुदन पौडेल, दावादोर्जे लामा, नारायण खतिवडा, नवराज सिलवाल र विजय सुवेदी आकांक्षी छन् । एमालेको जारी अधिवेशनअन्तर्गत् मंगलवार बिहान ८ बजेबाट बन्दसत्र चल्नेछ । बन्द सत्रले प्रदेश कमिटी चयन गर्नेछ । तर, एमालेभित्र हाल सर्वसम्मत वा निर्वाचनबाटै कमिटी चुन्ने भन्ने विषय चर्चामा छ ।

पार्टी अध्यक्ष केपी शर्माओलीले सोमबार अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्यानल बनाएर चुनावी मैदानमा उत्रिए उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् । जसकारण उनी अध्यक्षमा सर्वसम्मत गराउन चाहन्छन् । चर्चाअनुसार सर्वसम्मत गराउन चाहेका ओलीले अध्यक्षमा रामेछापका ढुंगेल, काठमाडौंका श्रेष्ठ र चितवनका पोख्रेलमध्ये एकजना चाहेको बुझिएको छ ।

ओलीले सहमतिमा नेतृत्व टुंग्याउन मञ्चबाटै निर्देशन दिएका थिए । उनको निर्देशनविपरित लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उम्मेद्वार गुटगत रुपमा निर्वाचनमा होमिएका थिए । एकले अर्कालाई सर्वसम्मत गर्न नमानेपछि ओलीको निर्देशनविपरित निर्वाचन भएको थियो ।लुम्बिनीमा निर्वाचन नगर्न निर्देशन दिएका ओलीले सोमबार बागमती प्रदेश अधिवेशनको उद्घाटनमा भने निर्वाचन गर्न ‘ग्रीन सिग्नल’ दिएका छन् ।

उनले ‘सम्भव भए सर्वसम्मत गर्नू नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नू’ भन्दै आकांक्षीलाई चुनाव लड्न सक्ने संकेत दिएका हुन् । ओलीले व्यक्तिले एकलरुपमा निर्वाचन लड्न पाउने तर समूह बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका छन् ।बागमती प्रदेश अधिवेशनका लागि १३ जिल्लाबाट एक हजार एक सय ३८ प्रतिनिधि सहभागी छन् ।

अधिवेशनका लागि काठमाडौंबाट १३२ जना, काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना सहभागी छन् । त्यसैगरी धादिङबाट ८७, चितवनबाट ८५ , रामेछापबाट ८१, भक्तपुरबाट ६६, सिन्धुलीबाट ६६, दोलखाबाट ६५, सिन्धुपाल्चोकबाट ६४, नुवाकोटबाट ६४, ललितपुरबाट ५०, रसुवाबाट २७ जना र जनसंगठनका तर्फबाट ९५ जना प्रतिनिधि छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*