एमाले प्रतिनिधिले सोधेः मकवानपुर की रामेछाप ?

साझाकुरा
२०८० आश्विन १०, बुधबार ०९:४७

हेटौंडा- नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास लगभग असफल भएको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्दैछ ।असोज ८ र ९ गते दुई दिनका लागि तय भएको अधिवेशन अरु दुई दिन लम्बिने देखिएको छ । नेतृत्व चयन गरेर मात्र अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिने भएको नेताहरुको भनाइ छ । प्रदेश नेतृत्वका लागि आकाङ्क्षीहरुको लर्को लाग्दा अधिवेशन थप रोचक बन्दै गएको र केन्द्रीय नेताहरुले समेत चासोका साथ हेरेका छन् । प्रदेश नेतृत्व (अध्यक्ष) पदका लागि नेताहरु कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले अध्यक्षमा आकाङ्क्षा देखाएका छन् । आकाङ्क्षीहरुले एकले अर्कालाई छोड्न तयार भइनसकेकाले निर्वाचनमार्फत नै नेतृत्व चयन हुने सम्भावना बढ्दै गएको प्रतिनिधिहरुले बताएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्माओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गरेको अधिवेशनको मंगलबार प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चलेको छ । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको प्रतिवेदनमा समूहगत छलफल गरेर पारित गरेसँगै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन मण्डलका सदस्य तथा एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौंलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य छन् ।

रामेछाप कि मकवानपुर ?
बागमती प्रदेशमा नेकपा एमालेका संगठित सदस्य झण्डै एक लाख १० हजार रहेका छन् । उनीहरुमध्येबाट ११ सय ३८ जना प्रतिनिधि छानिएर काठमाडौंमा अधिवेशनका लागि सहभागी छन् ।
एमाले अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गर्दै व्यक्ति व्यक्तिलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न छुट भएपनि प्यानल बनाएर निर्वाचनमा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएपछि नेताहरु प्यानलविनै निर्वाचन प्रतिस्पर्धा गर्ने मुडमा देखिन्छन् । प्रज्ञा भवनमा भेटिएका अध्यक्षका आकाङ्क्षी कैलाश ढुंगेलले भने, ‘सहमति भए ठिकै छ, नभए भोलि मतदान हुन्छ ।’, निर्वाचन प्रक्रिया सुरु भैनसकेकाले अधिवेशन प्रतिनिधि भने अन्योलमा देखिन्छन् । ‘खै के हुन्छ ? भन्न सकिँदैन । निर्वाचन हुन्छ भन्ने पनि छ, सहमतिको प्रयास भइरहेको पनि भन्ने सुनिन्छ’, प्रतिनिधि तारानिधि पोखरेलले भने, ‘जे भए पनि ठिकै छ ।’,

सहमति कि निर्वाचन भन्ने अन्योल हुँदा प्रतिनिधिहरु भने आपसमा यदि निर्वाचन भए अध्यक्षमा कसलाई भोट हाल्ने भनेर कोडभाषामा खासखुस गरिरहेका भेटिए । एकले अर्कालाई भेट्दा उनीहरुबीच कुरा गरेको प्रस्टै सुनिन्थ्यो, ‘रामेछाप की मकवानपुर ?’ रामेछापको अर्थ कैलाश ढुंगेल र मकवानपुरको अर्थ कृष्णप्रसाद दाहाल भन्ने प्रस्टै बुझिन्थ्यो ।

बुधबार बिहानबाट निर्वाचन कार्यक्रम

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि मात्रै सुरु हुने भएको हो । एमाले बागमतीले विद्युतीय मेसिनबाट मतदान गर्ने भएको छ । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ । यस्तै एकजनालाई मतदान गर्न करिब २० देखि २५ मिनेट लाग्ने जनाइएको छ । मतदान भने बिहीबार बिहान ८ बजेदेखि सुरु हुने नेताहरुले बताएका छन् । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन गर्न लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए । १३ जिल्ला र जनसंगठन विभाग सहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल सकेर टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष पाण्डेले जवाफ दिएका थिए । प्रतिवेदन बन्दसत्रबाट पास भएको छ । एमाले बागमती प्रदेशमा ४० वर्ष मुनीकालाई छुट्टै क्लष्टर र १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न नेताहरुले माग गरेका छन् । बन्दसत्रमा जनसंगठन परिचालन निर्देशिका भने बनेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*