बसपार्क नजिकै तामाङ संग्रहालय बन्ने
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाद्वारा बिनियोजित बजेटमार्फत १० नम्बर वडास्थित बसपार्क नजिकैको टोनी हेगन पार्क क्षेत्रमा तामाङ संग्रहालय निर्माण हुने भएको छ ।चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बिनियोजन गरिएको बजेटबाट निर्माण सुरु गर्न लागिएको संग्रहालय निर्माणस्थलमा हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाको उपस्थितिमा भूमिपूजा गरिएको छ । बौद्धधर्म विधि अनुसार धर्मगुरु छुल्ठिमदोर्जे लामाले भूमिपूजा तथा सिलान्यास गरेका छन् । नेपाल तामाङ घेदुङ मकवानपुरका बरिष्ठ उपाध्यक्ष आत्माराम मुक्तानको अध्यक्षतामा गठित संग्रहालय निर्माण उपभोक्ता समितिले भवनको निर्माण कार्य सुरु गर्न लागेको हो । ४ हजार वर्गफिटमा डेढ तल्लासम्म संग्रहालयको भवन निर्माण कार्य सुरुवात गरिएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको एक वर्षपछि मात्र संग्रहालयको निर्माण कार्य थालनी गरिएको छ । भूमिपूजा तथा सिलान्यास कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, हेटौंडा–१० नम्बर वडाअध्यक्ष फुर्वादोर्जे लामा, नेपाल तामाङ घेदुङ मकवानपुर इञ्चार्ज सुवास सिन्तान, जिल्ला अध्यक्ष कालु घलान, सचिव किरणमान बल, सल्लाहकार अमर लामा, भुटनदेवी युवा क्लब अध्यक्ष सविन मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।