किताबघरको पुस्तक प्रदर्शनीयात्रा सुरु
हेटौंडा- किताबघर, हेटौंडाको पुस्तक प्रदर्शनीयात्रा मंगलबारबाट सुरु भएको छ । हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनीयात्रा २०८०’ सुरु गरिएको हो ।असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका आठवटा विद्यालय समेटिने भएका छन् ।
बालबालिकामा पठनसंस्कृतिको विकास गराउन किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको किताबघरका सञ्चालक छवि अनित्यले बताएका छन् । प्रदर्शनीमा विद्यार्र्थीले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् । यसका लागि किताबघरले नेपाली तथा अग्र्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका चारसय बढी शीर्षकका बालपुस्तक उपलब्ध गराएको छ ।
मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनीयात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हर्नामाडीस्थित मकवानपुर बालविद्या सदनमा हुनेछ । यस्तै असोज १६ गते जनप्रिय मावि, हटिया, १९ गते रेडरोज इङलिस स्कुल, २३ गते प्रगति मावि, २६ गते हेटौंडा–२ स्थित बालजागृति इङलिस स्कुल र ३० गते ज्ञानदीप शिक्षा ‘जीएस’ निकेतनमा सम्पन्न हुनेछ ।