आमा बन्दै रेखा, ‘उपहार’को छायांकन सक्न चटारो

साझाकुरा
२०८० आश्विन १०, बुधबार १०:००

काठमाडौं-अभिनेत्री तथा निर्मात्री रेखा थापा आमा बन्ने भएकी छन् । उनले आगामी माघ महिनामा पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । उनको गर्भमा अहिले ५ महिनाको शिशु रहेको जनाइएको छ । रेखा स्वयंले आफू आमा बन्न लागेको कुराको पुष्टि गरेकी हुन् । गर्भवतीका बाबजूद उनी अहिले फिल्म ‘उपहार’को सुटिङमा व्यस्त छिन् । केही दिनदेखि एक्सन सिनको छायांकन भैरहेको छ ।

रेखाको गर्भ बढ्दै गएकाले अहिले फिल्मको छायांकन सक्न चटारो परेको छ । उनले पनि विश्राम नगरी छायांकन भ्याउन मिहिनेत गरिरहेकी छन् । केही दिनमा छायांकन सकिने र त्यसपछि उनले आराम गर्ने बताइएको छ । २०७८ सालको माघमा जाजरकोटका बलराम शाहीसँँग उनले अदालती विवाह गरेकी थिइन् । विवाह अगाडि उनीहरु प्रेम सम्बन्धमा थिए । शाही पर्यटन व्यवसायी हुन् ।

‘उपहार’ आगामी नयाँ वर्ष (२०८०)को छेको पारेर प्रदर्शन हुँदैछ । त्यसअघि रेखाले पहिलो सन्तानलाई जन्म दिनेछिन् । सन्तानको जन्म र फिल्म रिलिज सँगसँगै हुने भएपछि उनी खुसी देखिएकी छन् । २०५६ सालमा फिल्म ‘हिरो’बाट सुखद डेब्यू गरेकी रेखाले करिब एक दशक नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गरेकी थिइन् । आजभोलि उनी अभिनयभन्दा राजनीतिमा बढी सक्रिय छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*